साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र
काठमाडौं। बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन्।
रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन्। श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहिन बनाइएको राईले गुनासो गरेका छन्।
राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठडौंमार्फत साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए। उनीहरु मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रुपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्याइएका हुन्।
हाल होटल किचन वर्करका रुपमा काम लगाइएका उनीहरुकाे सामान्यः खाने र बस्ने व्यवस्था भने नास मेनपावर सोलुसन कम्पनीले नै मिलाएको छ। रोजगारका लागि कम्पनीलाई कुरा गर्दा मेनपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन्।
‘मेनपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ। रोजगारी देउ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन। प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ। हामीमाथि सरासर ठगी गरिएको छ।’
काम र दामबिहीन बनाइएका १०/१५ जना युवालाई अल्खारेजमा राखिएको छ। उनीहरुका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौं युवा अलपत्र छन्। अलपत्र युवा उद्धारको प्रतिक्षामा छन्।
अलपत्र युवाका आफन्तले उद्धारका लागि बैदेसिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन्। उद्धारका लागि बैदेशिक रोजगार विभागमा पुग्दा मेनपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment