कुन दललाई कुन मन्त्रालय अझै टुंगिएन, दलहरुसँग छलफलमा प्रधानमन्त्री
काठमाडौं। मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकार गठन भएको सय दिनको सन्निकट पुग्नै लाग्दा नयाँ गठबन्धन फेरिए पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेका छैनन्।
आज सरकारलाई पूर्णता दिनेगरी प्रधानमन्त्रीले गृहकार्य गरेपनि दलहरुको अडानको कारणले सो सम्भावना न्यून बनेको छ। कुन दललाई कुन मन्त्रालय दिने अझै सहमति हुने सकेको छैन।
मन्त्रालय नटुंगिएकै कारणले दलहरुले पनि मन्त्रीको नाम दिएका छैनन्। बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताईसकेका छन्।
जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ।







डिसी नेपाल







Facebook Comment