लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै नेपाल, अफ्रिकादेखि नेपालसम्म ओसारपसार
काठमाडौं । पछिल्लो पटक अफ्रिकादेखि नेपालसम्म लागुऔषध ओसारपसार बढ्दै गएको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्लो एक वर्षका घट्नाक्रमलाई हेर्ने हो भने करोडौ मूल्यमा कारोवार हुने लागुऔषध कोकिन तस्करी हुन थालेको तथ्यले ओसार पसार बढेको देखिन्छ ।
पछिल्लो पटक चैत १६ गते करौडौं मूल्य पर्ने प्रतिबन्धित लागु औषध कोकिन बरामद भएको थियो । फल्स बटम बनाएर लेडिज ब्यागभित्र करिब ८ केजी कोकिन राखेर काठमाडौ आएका दुई महिला पक्राउ परे । एउटा लगेजमा २ किलो ८ सय ग्राम र अर्कोमा ५ केजी कोकिन लुकाएका रहेछन् उनीहरुले।
पाँच देशको विमानस्थल पार गर्दा पनि उनीहरूमाथि सुरक्षा निकायको ध्यान गएन । तर, नेपालबाट भारत उड्न लागे, उनीहरू पक्राउ परे । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गर्याे।
पक्राउ पर्नेमा ४५ वर्षीया भारतीय महिला भनल्वामी र २९ वर्षीया इस्तेर लालहालिम्पुई रहेका थिए । उनीहरुले इथियोपिया, गिनी, मोरोक्को, कतार र नेपालसम्म यात्रा गरेका थिए । ३ भदौ २०७८ मा ३० वर्षीय दक्षिण अफ्रिकी नागरिक श्रृली गामा नेपालमा पक्राउ परिन् । उनी २ भदौमा दक्षिण अफ्रिकाको केपटाउन विमानस्थल प्रयोग गरेर कतारको दोहाहुँदै नेपाल आइपुगेकी थिइन् ।
त्रिभुवन विमानस्थल पार गरेर सिधै ट्याक्सी चढेर कमलादीस्थित होटल पुगेकी गामा १९ भदौमा फर्किने गरेर दुई तर्फी टिकट काटेर भिजिट भिसामा नेपाल आएकी थिइन् । उनले ल्याएको लगेजको भित्री भागमा फल्स बटन बनाएर दुई केजी ९६६ ग्राम कोकिनसहित उनी ब्युरो टोलीको फन्दामा परेकी थिइन् ।
९ दिनसम्म गामालाई आफैँसँग राखेर कोभर्ट अपरेसन चलाएको ब्युरोले त्यही बेला थप दुई जनालाई समेत नियन्त्रणमा लिएको थियो । उनीसँगै तान्जानियाका २६ वर्षीया जर्टड लिओनार्ड किमारो र भारत बेङ्लोरका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
त्यसैगरी गत जेठ २९ गते साँझ ५ बजेर ५५ मिनेटमा फ्लाइट दुबईको जहाज दुबईबाट आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । जहाजमा आएकी एक अफ्रिकन महिलातिर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीको ध्यान गयो । ती थिइन्, दक्षिण अफ्रिकी नागरिक ४६ वर्षीया मुरियल क्वेडुकबाजी थेम्बेनी साम्बा ।
उनी आफ्नो मुलुक दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी थिइन् । उनी एक्लै आएकी थिइनन, उनीसँग अर्की दक्षिण अफ्रिकाकै २९ सिब्सी थान्डेकिले आएकी थिइन् । उनी भने पहिलोपटक नेपाल आएकी थिइन् । उनीहरुको साथमा थियो लागुऔषध कोकिन र हेरोइन । त्यतिबेला उनीहरूको साथबाट प्रहरीले २ किलो कोकिनसँगै १६ किलो हेरोइन बरामद गर्यो ।
प्रहरीको सक्रियताले धेरै ठूलो परिणाममा लागुऔषध बरामद गर्न सफल भएको जनाएको छ । लागुऔषध नियन्त्रण व्यूरोका प्रमुख एसएसपी विकास खनालका अनुसार प्रहरीले पछ्याउदा पछ्याउदै कतिपय कारोबारीहरु उम्कने गरेका छन् । तर प्रहरीले नेपाललाई ट्रान्जिट बनाउन खोज्नेहरुलाई भने छाडेको छैन । ‘प्रहरीको आँखा छलेर कारोबार भएको भए थाह भएन नत्र अहिलेको अवस्थामा प्रहरीको सक्रियताले नै यतिधेरै परिणामको लागुऔषध बरामद गर्न सफल भएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख खनालका अनुसार यति ठूलो मात्रामा नभए पनि एक वर्षको अवधिभित्रै दुईवटा अन्य घटना यस्तै प्रकृतिका थिए । यसैगरी दक्षिण अफ्रिका हुँदै दुबई र दुबई हुँदै काठमाडौं हेरोइनसहित आएका दक्षिण अफ्रिकी महिला पक्राउ परेका थिए ।
‘कतिपय भारतीय पनि पक्राउ पर्छन, तर धेरैजसो अफ्रिकाबाटै लागुऔषध बोकेर भरियाका रुपमा आउने पनि पक्राउ पर्छन’, एसएसपी खनालले भने । उनका अनुसार गत वर्षको वैशाखको ३ गते साउथ अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाडौं झरेकी अफ्रिकी देश जाम्बियाकी कपुतुला असिमबर्ग ७ केजी हेरोइनसहित काठमाडौं झरेकी थिइन् ।
उनले ल्याएको हेरोइन लैजान भारतबाट आएकी लालनुपुईसहित दुवैलाई ब्युरोले पक्राउ गरेको थियो । यी घटनाले विश्वव्यापी हुने अवैध लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा नेपालको बाटो प्रयोग हुँदै गएकोतर्फ संकेत गरेको सुरक्षा अधिकारीहरुको दाबी छ । विगतका यी घटनाले त्यतिबेला नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयोग भएको कोकिन र हेरोइन भारततर्फ जान लागेको प्रस्ट देखाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार यसपटक भित्रिएको कोकिन र हिरोइनको परिणाम नेपालका लागि भने हुँदै होइन । त्यो भारतकै बाटो भएर तेस्रो मुलुकतर्फ जानका लागि भित्रिएको भएपनि अन्य मुलुकको दाँजोमा नेपालका सुरक्षा अधिकारीले होसियारीपूर्वक काम गर्दा सो परिणाममा लागुऔषध बरामद भएको प्रहरीको दावी छ । प्रकाउ पर्नेमा भारतीय, क्यानेडियन, फ्रान्सेली र चिनीयाँ लगायत देशका नागरिक रहे पनि भारतीयको संख्या धेरै रहेको प्रहरीको दावी छ ।
‘विदेशबाट नेपाल भित्रिने लागुऔषधको भरियाका रुपमा तेस्रो मुलुककै नागरिक धेरै पक्राउ पर्ने गरेका छन्’, एसएसपी खनालले भने ।
उनका अनुसार क्यानेडियन, फ्रान्सेली र थाई नागरिकहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुले नेपालकै लागि भनेर त्यो लागुऔषध ल्याउने नगरेको र यहाँबाट तेस्रो मुलुक पठाउने गरेको पनि उनको दावी छ ।
‘अघिल्ला घटनाले भारत नै जान लागेको देखाएको थियो । यसपटकको पनि नेपालकै लागि आएको हुँदै होइन । नेपालमा यति ठूलो मात्रामा हेरोइनका प्रयोगकर्ता नै छैनन, तेस्रो मुलुकलाई ट्रार्गेट गरेको हुनुपर्छ’, एसएसपी खनालले भने ।
प्रहरीका अनुसार सीमापार अवैध लागुऔषध कारोबारका लागि अन्तर्राष्ट्रिय स्तरमा उत्पादक र बजारका प्रचलित क्षेत्र छन् । उत्पादन क्षेत्रबाट बजार क्षेत्रमा पुग्न अवैध रूपमा बाटो प्रयोग गर्ने गरिन्छस जसका बीचमा नेपाल र भारत पर्छन् । लागुऔषधमा अफिमबाट हेरोइन बन्छ । विश्वमा अफिमको खेती सबैभन्दा बढी पाकिस्तान, अफगानिस्तान र इरानमा हुन्छ । यी तीन देशलाई ‘गोल्डेन क्रिसेन्ट’ भनेर लागुऔषधको दुनियाँमा चिनिन्छ ।
यस्तै कोकिन दक्षिण अफ्रिका, बोलिभिया, पेरू, मेक्सिको र ब्राजिलमा बढी उत्पादन हुन्छ । यो कोका वनस्पतिबाट बन्छ । यी देशमा उत्पादन भएका लागुऔषध पूर्वीएसियाका बर्मा, लाओस र भियतनाममा बढी प्रयोग हुन्छ । यसलाई लागुऔषध प्रयोगकर्ताहरूको ‘गोल्डेन ट्रेंगल’ भनेर चिनिन्छ । लागुऔषधका प्रयोगकर्ता विश्वभर नै छन्, तर सबैभन्दा बढी प्रयोग यी तीन देशमा हुने भएकाले गोल्डेन ट्रेंगल नाम दिइएको हो ।
लागुऔषध कारोबार विश्वभर अवैध छ, तर अवैध कारोबार भए पनि उत्पादकबाट उपभोक्तासम्म पुर्याउन ठूलै जोखिम उठाउने जमात छ । त्यही जमातले अहिले नेपालको बाटो रोजेको प्रहरीको दाबी छ ।







डिसी नेपाल







Facebook Comment