सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख
काठमाडौँ। सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूतपरिवर्तन हुन नसकेको बताए।
‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ,’ उनले भने, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन ।’ उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताए।
सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे। ‘भएका कानून कार्यान्वयनमा किन बाधा पुगेको छ ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौं भनेर तपाईंहरुले छलफल गर्नुपर्छ,’ उनको भनाइ थियो।
आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए।
‘हामी सुधार गर्दछौं, हाम्रो विद्यालय’ नारका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहहरुबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको महासंघका अध्यक्ष कृष्ण थापाले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment