प्रधानमन्त्री प्रचण्डले किन भेटे शेखर कोइराला ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले बालुवाटार पुगेर भेटेका छन् । प्रधानमन्त्रीकै आग्रहमा शुक्रबार डा.कोइरालले नेता मिनेन्द्र रिजालसहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका हुन् ।
कांग्रेसभित्रै संस्थापन पक्ष सभापति शेरबहादुर देउवासँग कोइराला समूहले तीन मन्त्रालयको दाबी गरेर सरकारमा सहभागी नभइरहेकाे अवस्थामा उनले प्रधानमन्त्रीसँग गरिएको भेटवार्तामा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।
यद्यपि कांग्रेसमा सभापति देउवासँग आन्तरिक किचलोका कारण सरकारमा आफ्नो समूहबाट मन्त्रीहरु पठाउन नसकिरहेको अवस्थामा कोइरालाले प्रधानमन्त्रीसँग गरेको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
कोइराला समूहले तीन मन्त्रालय दाबी गरेकोमा सभापति शेरबहादुर देउवा पक्षले दुई मन्त्रालयमात्रै दिने बताएपछि कोइराला समूह असन्तुष्ट बनेर सरकारमा सहभागीता जनाएको छैन।
शुक्रबारको भेटमा सरकारमा सहभागीता र संसदमा पेश गरिएको संक्रमणकालीन न्याय सम्बन्धि संशोधन विधेयकलाई टुंगो लगाउने विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा सरकारमा सहभागी हुने मन्त्रीको नाम कोइराला समूहले नदिएपछि आठ मन्त्रालय पाएको कांग्रेसले संस्थापन, सभापति देउवा पक्षका चार जनालाई मात्रै सरकारमा पठाएको छ ।
सरकारमा सहभागी नभएर असन्तुष्ट बनेकाले उनकाे समूहलाई सरकारमा सहभागीताका लागि आग्रह गर्न प्रधानमन्त्रीले कोइरालासँग भेट गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए।
केही दिनअघि कोइराला समूहकै कांग्रेस महामन्त्री गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका थिए ।सोही कारणले सशंकित रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको आन्तरिक समस्या समाधान गरेर छिट्टै सरकारमा सहभागीताका लागि आग्रह गरेको बताइएको छ।







डिसी नेपाल







Facebook Comment