संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन माओवादी केन्द्रको माग

डिसी नेपाल
२८ चैत २०७९ १७:४४
92
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसँगसम्बन्धी बिधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गोमा पुराउनका लागि संक्रमणकालीन न्यायसंगसम्बन्धी बिधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको हो।

बैठकले संवैधानिक परिषद् र सम्पती शुद्धिकरणसंगसम्बन्धी बिधेयकलाई पनि छिटो पारित गर्नमा लागि माग गर्ने निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिधेयकहरु अघि बढाउदा प्रतिपक्षीसहितका दलहरु सहमति खोज्नुपर्नेमा जोड दिएका थिए।

संक्रमणकालीन न्यायका बिषयमा पनि शीर्ष तहमा छलफल गरेर समझदारी गरेर जाने तयारी भइरहेको पनि प्रधानमन्त्रीले बताएको पाण्डले बताए।

संसदीय दलको बैठकले दलको बिधान परिमार्जनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदललाई एक महिनाभित्रै संशोधन सहिहतको आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख सचेतक पाण्डेले बताए।

कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सदस्य छन्। कार्यदलको सदस्यमा प्रतिनिधिसभाबाट पूर्ण घर्तीमगर र बिमला सुवेदी तथा राष्ट्रियसभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे छन्।

कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनका आधारमा विधानलाई अन्तिमरुप दिनेछ। आफ्नो रुची अनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री दाहालले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराएका थिए। अनुशाशित र मर्यादित ढङ्गबाट संसद्मा प्रस्तुत हुने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री दाहालले निर्देशित गरेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.