बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

डिसी नेपाल
३० चैत २०७९ १०:३४
560
Shares

बैतडी। बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए।

दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए। उनीहरूले चालक, साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गरेका थिए। केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ। भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *