जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
१ वैशाख २०८० ११:४९
88
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन्।

पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ। सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु।’

उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए।

उनले भने, ‘अब जनता र कार्यकर्ता तिर फर्केर मात्र पार्टी बन्छ। नेताहरुबाट समर्थन लिएर र सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नै पर्ने भएको छ। पार्टी हामी सबै मिलेर बनाउनु नै छ। पार्टी बनाउने राजनीति, बिचार र संस्कृतिमा गयौं भने पार्टी बन्न ढिलो पनि हुन्न।’

प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

उनले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भने, ‘लेखौं, बोलौं र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौं। हामी सबैले आफ्नो भूमिका पूरा गर्‍याैं भने हाम्रो तागत ठूलो छ। सरकारको नेतृत्व लिएपछि पनि धेरै कामहरु गर्न प्रयास भएका छन्। केही सफल भएका छन्, केही सफल हुँदैछन्। पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी छ। सरकारलाई जनताको आशा अपेक्षा अनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौती र जिम्मेबारी हाम्रो काँधमा छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *