हेलो सरकारमा गुनासा बढे : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
चितवन। पछिल्लो समय विद्यालय तहमा अध्ययनरत किशोर विद्यार्थीले लामो कपाल पाल्ने क्रम बढेसँगै यस विषयलाई लिएर विद्यालय, अभिभावक र विद्यार्थीबीच विवादसमेत देखिन थालेको छ। विद्यार्थीलाई कपाल छोटो बनाउन दबाब दिएको भन्दै कतिपयले हेलो सरकार तथा प्रहरीमा समेत उजुरी गर्न थालेका छन्।
चितवन कृष्णपुरका विनोद ढकाल आफ्नो कक्षा ९ मा अध्ययनरत छोराले कपाल छोटो बनाओस् भन्ने चाहना राख्छन्। उनका अनुसार विद्यालयबाट समेत छोरालाई कपाल काट्न लगाउन आग्रह गर्दै फोन आएको थियो। तर छोराले कपाल छोटो बनाउन नमानेपछि आफूले जबर्जस्ती नगरेको उनले बताए।
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि यस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई कपाल काट्न भन्न छाडिसकेको र कक्षा ७ मा पढ्ने कान्छो छोराले समेत आफूले भनेको नमान्ने गरेको उनले बताए। उनका अनुसार पछिल्लो समय अभिभावकको प्रमुख गुनासो नै छोराछोरीले कपाल छोटो बनाउन नमान्ने भन्ने रहेको छ।
विद्यालय तथा उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थीमा लामो कपाल पाल्ने आकर्षण बढ्दै गएको देखिन्छ। कतिपय विद्यार्थीले कपाल मिलाउन तथा नियमित स्याहार गर्नसमेत रुचि नदेखाउने गरेका छन्। विद्यालयले विद्यार्थीलाई इच्छाविपरीत कपाल काट्न लगाउन नपाउने व्यवस्था भएपछि कतिपय विद्यालयले अभिभावकको सहयोग लिन थालेका छन्।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाब दिएर कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी गर्ने गरेको जानकारी महाशाखामा आउने गरेको छ। विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा रहने वा अभिभावकबाट टाढा रहेका विद्यार्थीमा कपाल छोटो बनाउन नमान्ने प्रवृत्ति बढी देखिएको उनले बताए।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले अहिले विद्यालयले विद्यार्थीलाई कपाल काट्न दबाब दिन छाडेको बताए। उनका अनुसार निजी विद्यालयविरुद्ध कपाल जबर्जस्ती काट्न लगाएको भन्दै हेलो सरकारमा उजुरी पर्ने क्रमसमेत देखिएको छ। देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध यस्तै प्रकृतिका उजुरी परेको जानकारी आफूले पाएको उनले बताए।
उनका अनुसार विशेषगरी कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीमा लामो कपाल राख्ने प्रवृत्ति बढी देखिएको छ। कपाल काट्ने विषयमा विद्यालयले पहिलेको जस्तो कडाइ गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।
सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको दशौँ संशोधनमा विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाउने व्यवस्था गरिएको छ। विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने तथा काट्न लगाउने गरेको गुनासो बढेपछि यस्तो व्यवस्था गरिएको हो।
शिक्षा नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न वा गराउन नहुने उल्लेख छ। विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउनसमेत नपाइने व्यवस्था गरिएको छ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरे किशोरावस्थामा लामो कपाल राख्ने प्रवृत्तिलाई पछिल्लो समय बढेको सामाजिक सञ्जाल तथा सेलिब्रेटी संस्कृतिसँग जोडेर हेर्छन्। उनका अनुसार पहिले विद्यार्थीले क्याम्पस तहमा पुगेपछि चलचित्र तथा विश्वका गतिविधिबाट प्रभावित भएर त्यसको नक्कल गर्ने गरे पनि अहिले बालबालिकाले सानै उमेरदेखि मोबाइल र सामाजिक सञ्जालमार्फत सेलिब्रेटी तथा विभिन्न फेसन देख्ने अवसर पाएका छन्।
उनले नक्कल गर्नु मानिसको स्वाभाविक गुण भएकाले सेलिब्रेटीले अपनाएको शैलीलाई किशोरले पनि पछ्याउन चाहने बताए। पहिले ठूलो भएपछि मात्र देखिने यस्ता प्रभाव अहिले मोबाइल र सामाजिक सञ्जालका कारण सानै उमेरमा देखिन थालेको उनको भनाइ छ।
डा. घिमिरेका अनुसार कपाल लामो राख्नु आफैँमा नराम्रो विषय होइन। तर त्यसको स्याहार–सुधारमा लाग्ने समय र खर्चका कारण अध्ययनमा असर पर्न सक्ने अवस्था भने रहन्छ। घर तथा विद्यालयबाट कपाल छोटो बनाउन आग्रह गरिँदा पनि नमान्ने प्रवृत्तिलाई कतिपय अवस्थामा किशोरावस्थामा देखिने आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा समेत बुझ्न सकिने उनले बताए।
विशेषगरी विद्यालय तथा कलेज तहका किशोरमा परम्परागत छोटो कपालभन्दा आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीप्रति आकर्षण बढेको देखिन्छ। सामाजिक सञ्जाल, चलचित्र, संगीत र विदेशी फेसनको प्रभावले यस्तो प्रवृत्तिलाई थप बढावा दिएको विज्ञहरूको भनाइ छ।
स्वास्थ्यका दृष्टिले पनि लामो कपाल राख्दा नियमित सरसफाइ र स्याहार आवश्यक हुन्छ। कपाल सफा गर्न कठिन हुने, दैनिक हेरचाहमा बढी समय लाग्ने तथा खर्च बढ्ने समस्या हुन सक्छ। उचित स्याहार नगरेमा जुम्रा, चाया तथा अन्य समस्या देखिन सक्ने विज्ञहरू बताउँछन्। विशेषगरी धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहोर जम्दा गर्मीको समयमा असहजता बढ्न सक्छ।
यसरी विद्यार्थीको व्यक्तिगत रोजाइ, विद्यालयको अनुशासन र अभिभावकको अपेक्षाबीच कपालको विषयमा विवाद देखिए पनि विद्यार्थीको शारीरिक तथा मनोवैज्ञानिक अवस्थालाई असर पर्ने गरी जबर्जस्ती गर्नेभन्दा संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment