लोकतन्त्रको नयाँ परिभाषा गर्न जरुरी छ : महासचिव गुरुङ
काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले लोकतन्त्रको रक्षाका लागि राष्ट्रियतालाई संगै लिएर लोकतन्त्रको नयाँ परिभाषा गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित दिशा निर्देश प्रेस क्लबको २० औं बार्षिकोत्सव समारोहमा उनले लोकतन्त्र र राष्ट्रियता एक सिक्काको दुई पाटा भएको बताए । लोकतन्त्रको संस्थागत विकाससंग राष्ट्रियता जोडिएको र यी दुवै विषय अलग अलग नभएर एक आपसमा अन्तरसम्बन्धित भएकाले दुवैलाई संगै लिएर अगाडि बढ्नुपर्ने महाससचिव गुरुङको धारणा छ ।
‘लोकतन्त्र रक्षाका साथै राष्ट्रियताको रक्षालाई पनि संगै जोडेर लैजान जरुरी छ । राष्ट्रियताको पाटो रक्षा हुन सकेन भने लोकतन्त्रको रक्षा पनि हुँदैन् ।’ गुरुङले भने ।
महासचिव गुरुङले लोकतन्त्रको रक्षा भए मात्रै व्यक्तिको रक्षा हुनसक्ने बताउँदै लोकतन्त्र माथि गरिएको प्रश्न राष्ट्रियता, स्वाधीनता र व्यक्तिको स्वतन्त्रतासंग अन्तरसम्बन्धित भएको जिकिर गरे । धेरै शक्ति राष्ट्रहरु स्वाधीनतामा खुम्चिदै र कुण्ठित बन्दै गएकोे बताएका उनले सिंगो राष्ट्रको अधिकार र स्वाधीनताको लागि लोकतन्त्र र राष्ट्रियता घनिष्ट रुपमा एकअर्कामा जोडिएको बताए ।
उनले भने ‘राष्ट्रको अधिकारको प्रश्न खुम्चिनु भनेको आत्मनिर्णयको अधिकार खुम्चिनु हो । जनताको आत्मनिर्णयको अधिकार खुम्चिनु भनेको मुलुकको स्वाधीनता र अस्मिता समाप्त हुनु हो ।’ लोकतन्त्रको परिभाषा गर्दा नागरिकको स्वतन्त्रलाई परिभाषित गर्ने गरिए जस्तै राष्ट्रियताको स्वाधीनता र स्वतन्त्रताको लागि पनि परिभाषित गरेर अगाडि बढ्नुपर्ने समय आएको गुरुङको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment