उद्योगहरुको विद्युत् आपूर्ति कटौतीप्रति मोरङ व्यापार संघको आपत्ति

डिसी नेपाल
१८ वैशाख २०८० १३:३३

विराटनगर। मोरङ–सुनसरी–कटहरी क्षेत्रकाऔद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार संघले आपत्ति जनाएको छ।

विगतका कोभिडका कारण भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अतिआवश्यक विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन्।

प्राधिकरणबाट केही महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै यस संघले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाद विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उद्योगको हकमा हाम्रो नेतृत्वमा सञ्चालित उक्त कार्यकम लगत्तै हाल प्राधिकरणले उद्योगमा क्यापासिटर बैंक नभएको वा सञ्चालन नगरेका उद्योगलाई सामान्य प्राविधिक कारण देखाउँदै लिखित सूचना बिना मौखिकरूपमा विद्युत् आपूर्ति कटौती गरिदिने कुरा यस संघको विरोध कार्यक्रमको प्रतिशोधस्वरुप आएको हो कि भन्ने प्रश्न उठेको जनाइएको छ।

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन, सङ्कटग्रस्त उद्योगमा कुनै प्रकारका धम्की/त्रासका वातावरण सिर्जना नगराउन तथा उद्योगमा कार्यरत हजारौँ श्रमिकको रोजगारीको संरक्षण गराउन प्राधिकरणसहित सम्बन्धित सबैमा संघले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *