अरब दलहरूप्रति नेतान्याहुको कडा टिप्पणी: ‘आतङ्कवादको समर्थन गर्ने दलको भरमा चल्ने सरकार जनताले चाहेका छैनन्’

डिसी नेपाल
१७ कार्तिक २०८३ ८:३९

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशका सर्वसाधारणहरू ‘रआम’ र ‘जोइन्ट लिस्ट’ जस्ता अरब दलहरूको समर्थनमा अडिने सरकारको पक्षमा नरहेको दाबी गरेका छन्। उनले ती दलहरूमाथि ‘आतङ्कवादलाई प्रश्रय दिएको’ र ‘यहुदी राष्ट्रको अस्तित्वलाई अस्वीकार गरेको’ गम्भीर आरोपसमेत लगाएका छन्।

इजरायलमा भर्खरै सम्पन्न आमनिर्वाचनको अन्तिम नतिजा अनुसार १२० सदस्यीय संसद (नेसेट) मा कुनै पनि गठबन्धनले सरकार गठनका लागि आवश्यक ६१ सिटको स्पष्ट बहुमत प्राप्त गर्न सकेका छैनन्।

प्रधानमन्त्री नेतनयाहुले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै भनेका छन्, “इजरायलका जनता यस्तो सरकार चाहँदैनन्, जुन रआम र जोइन्ट लिस्टजस्ता पार्टीहरूको भरमा टिकोस्। यी यस्ता दलहरू हुन् जसले आतङ्कवादको समर्थन गर्छन् र यहुदी देशको अस्तित्वलाई स्वीकार गर्दैनन्।”

उनले अगाडि थपेका छन्, “पहिलो दिनदेखि नै हामीले एक व्यापक राष्ट्रिय सरकार निर्माणका लागि हात बढाएका छौँ। यहुदी समुदायको स्पष्ट बहुमतले लिकुडलाई सबैभन्दा ठूलो पार्टी र मलाई सरकारको नेतृत्व गर्नका लागि प्रधानमन्त्रीका रूपमा चुनेको छ।”

नेतान्याहुले आफू वार्ताका लागि तयार रहेको बताउँदै भनेका छन्, “हामी हाम्रा सहयोगीहरू र आतङ्कवादको समर्थन नगर्ने अन्य सबै दलहरूसँग मिलेर एक बृहत् सरकार बनाउन चाहन्छौँ। म यस विषयमा छलफल गर्न सधैँ तयार छु।”

वामपन्थी विचारधारानजिक मानिने इजरायली पत्रिका ‘हारेत्ज’को रिपोर्ट अनुसार, नेतान्याहुको गठबन्धनले कुल ५३ सिट जितेको छ, जसमा उनको आफ्नै दल ‘लिकुड’ ले २७ सिट हासिल गर्दै संसदको सबैभन्दा ठूलो दल बनेको छ। यद्यपि, सन् २०२२ को निर्वाचनको तुलनामा नेतनयाहुको गठबन्धनको सिट घटेको छ; २०२२ मा उनको गठबन्धनले ६४ सिट प्राप्त गरेको थियो।

अर्कातर्फ, उनका मुख्य प्रतिस्पर्धी गादी आइजेनकोटको पार्टी ‘यसार’ ले २१ सिट जितेको छ। उनी आफ्ना सहयोगी दलहरूसँग मिलेर कुल ४८ सिटको गठबन्धन बनाउन सक्ने स्थितिमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *