अमेरिकाले सर्त पूरा गरे भोलिपल्टै ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने अराघचीको घोषणा

डिसी नेपाल
१७ कार्तिक २०८३ ८:१७

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग जारी तनावका बीच इरानले आफ्नो पूर्वप्रस्तावित सात दिने योजनालाई घटाएर दुई दिने ढाँचामा झारेको बताएका छन्।

टेलिभिजन नेटवर्क ‘अल जजिरा’ लाई दिएको एक अन्तर्वार्तामा अराघचीले यदि अमेरिकाले पहिलो दिन इरानका सर्तहरू पूरा गर्छ भने, दोस्रो दिन नै इरानले ‘स्ट्रेट अफ हर्मुज’ लाई पुनः खोल्ने जानकारी दिए।

यसअघि इरानको ७ दिने योजनामा तनाव कम गर्ने, हर्मुज जलडमरूमध्य खोल्ने र नयाँ वार्ताको सुरुवात गर्ने विषयहरू समावेश थिए। तर अहिले त्यसलाई दुई दिने समयसीमामा ल्याउने नयाँ प्रस्ताव अघि सारिएको हो।

अराघचीले भने, ‘यस प्रस्तावलाई लिएर कतारका मध्यस्थकर्ताहरूसँग निरन्तर छलफल भइरहेको छ। यद्यपि, हालसम्म यसमा कुनै अन्तिम सहमति जुट्न सकेको छैन। यो प्रस्ताव लागू हुन्छ या हुँदैन भन्ने कुरा अर्को पक्ष (अमेरिका) ले इरानका प्रश्नहरूमा दिने जवाफमा निर्भर रहनेछ।’

फारसको खाडीमा अन्य धेरै तेल तथा ग्यास ट्याङ्करहरूलाई निशाना बनाइएका खबरहरू सार्वजनिक भइरहेका बेला इरानी विदेशमन्त्रीको यो भनाइ बाहिर आएको हो।

यसअघिको इरानको सात दिने शान्ति प्रस्तावअनुसार, सुरुवाती पहिलोदेखि पाँचौँ दिनसम्म अमेरिका र उसका सहयोगीहरूले सैन्य सङ्घर्ष पूर्ण रूपमा रोक्नुपर्ने, इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, तेल निर्यातमा लगाइएका प्रतिबन्धहरूमा छुट दिनुपर्ने र विदेशमा रोक्का (फ्रिज) गरिएका इरानी सम्पत्तिहरू फुकुवा गर्नुपर्ने सर्त राखिएको थियो।

यसको बदलामा छैटौँ दिन इरानले ‘स्ट्रेट अफ होर्मुज’ लाई व्यावसायिक जहाजहरूका लागि खोल्ने र सातौँ दिन दुवै पक्षबीच आणविक (न्युक्लियर) कार्यक्रममाथि नयाँ औपचारिक वार्ता सुरु गर्ने योजना तय गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *