रेसुंगा विमानस्थलबाट नियमित उडान सुरू

डिसी नेपाल
२९ वैशाख २०८० १३:३९
528
Shares

रेसुंगा। गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ। नेपाल वायुसेवा निगमको ९एन-एबीयु ट्वीनअटर जहाजले नियमित उडान थालेको हो। निगमले मंगलबार पनि उडान भर्ने तयारी गरेको छ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो। त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो। व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुंगा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताइन्। हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाइन्।

आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो। जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ।

“परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ”, क्याप्टेन विष्टले भने, “हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मंगलबार पनि उडान भर्ने हाम्रो तयारी छ।” रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए।

“गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ”, उनले भने, “नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ।” उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो। निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको थियो। फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो। पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ। प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ।

रेसुंगा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो। पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो। विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ। विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *