खडेरी र तापक्रम बढेसंगै सुक्न थाले ट्युबवेल, समस्यामा स्थानीय

डिसी नेपाल
१९ जेठ २०८० १४:३४
48
Shares

उदयपुर। त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ।

जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै समस्या भोग्न परेको गुनासो गर्न थालेका छन्। त्रियुगा–१२ डिएम गेट, दुर्गाटोल, सुनगाभा टोलसहितका स्थानमा एक हप्तादेखि ट्युबवेलबाट पानी आउन छाडेकाले पिउने पानीको निकै कष्ट भोग्न परेको स्थानीय दुर्गा टोलका मुहकर अलि मियाँले बताए।

गाईघाटको सुनगाभा टोलसहित दुर्गाटोल क्षेत्रमा अहिले झण्डै सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेपछि आफूहरु पिउने पानीका लागि अन्य छिमेकीकोतिर जानुपर्ने बाध्यता भएको तथा किनेर पानी खान बाध्य हुनुपरेको डिएम गेटका बासिन्दा सुजाता दाहालले बताइन्।

त्रिनपा–१२ कै पुरानो गाईघाटस्थित बोटे टोल, बगरटोल क्षेत्रमा पनि डेढ हप्तादेखि झण्डै एक सय ५० ट्युबवेल सुकेपछि पानी आउन छाडेको बोटेटोलका रञ्जन बोट बताउँछन्।

ट्युबवेलबाट पानी नआउनुका कारणबारे गाईघाट डिएम गेटका ट्युबवेल मेकानिकल पशुपति चौधरी भन्छन्, “जमिनको सतहभन्दा बीस–बाइस फिट गहिराइमा पाइप गाडिएका छन्, तर अहिले सुक्खा खडेरीका कारण पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेका कारण अर्को पाइप गहिरो गाडेरमात्र अब पानी आउन सक्छ, पुरानो ट्युबवेलबाट अहिलेको जमिनको सतहबाट अब पानी आउँदैन।”

गर्मी र सुक्खा खडेरीका कारण जमिनको सतहबाट पानीको सतह पनि घट्न थालेपछि त्रियुगा–३ भुल्के र वडा नं २ खैजनपुर क्षेत्रमासमेत जमिनमा गाडिएको ट्युबवेल तथा कलबाट पानी आउन छाडेको खैजनपुरका देवप्रसाद लुइँटेलले बताए।

केही वर्षअघि जमिनको सतहभन्दा तल २०/२२ फिट मुनिसम्म गाडिएका कल तथा ट्युबवेलबाट यसअघिसम्म पानी तानेर प्रयोग हुने गरेको भए पनि अहिलेको खडेरी र सुक्खा मौसमका कारण जमिनको सतहभन्दा धेरै तल पानीको सतह सुकेर झरेको बताइएको छ। त्रियुगा क्षेत्रका गाउँघरमा ट्युबवेलबाट पानी आउन छाडेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *