बजेट छलफलः सत्तापक्षको बचाउ, प्रतिपक्षको विरोध

डिसी नेपाल
२४ जेठ २०८० १९:१५
24
Shares

काठमाडौं। सत्तारुढ दलका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको जनाएका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटको कार्यान्वयनका बारेमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा बैठकमा बुधबार बजेटमाथिको छलफल क्रममा सत्तापक्ष सांसदहरुले बजेटको बचाउ र प्रतिपक्षी सांसदहरुले बजेटको बिरोध गरेका हुन् । छलफलमा भाग लिदै कांग्रेस सांसद दिलेन्द्र बडुले बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्चलाई घटाउने प्रयत्न गरेको बताए।

उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अनुगमनको प्रभावकारिता बढाउने बिषय सकारात्मक रहेको जिकिर गरे। बडुले २० वटा सरकारी निकायलाई खारेजी तथा गाभ्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए।

त्यस्तै एमाले सांसद रघुवीर महासेठले सार्वजनिक खरिद ऐन बनाउँदा कुनै ठेकेदारलाई लाभ पुग्ने गरी बनाइएको उल्लेख गरे। वीरगञ्ज–काठमाडौँ र रसुवा–काठमाडौँ रेलमार्गको डिपिआर ढिला हुनुमा सरकार जिम्मेवार रहेको भन्दै उनले सुनकोसी मरिण, भेरी बबई र रानी जमरालगायत सिँचाइ आयोजनाको कामलाई प्राथमिकतामा राख्न नसकिएको बताए।

त्यस्तै सांसद लेखनाथ दाहालले बजेटले समस्याको उठान गरेको र पुँजीगत खर्चका लागि कार्ययोजना बनाएर अनुगमन संयन्त्र परिचालन गर्ने विषय सकारात्मक रहेको बताए।

त्यस्तै सांसद उपेन्द्र यादवले बजेटमा केही सकारात्मक, केही नकारात्मक र केही विभेदकारी विषय राखिएको बताए। उनले बजेट निर्माण गर्दा सन्तुलित र समावेशी विकासको अवधारणालाई अवलम्बन गर्न नसकेको दाबी गरे।

त्यस्तै सांसद डा अमरेशकुमार सिंहले मधेशलाई न्यून प्राथमिकतामा राखेको भन्दै आगामी आर्थिक वर्षका लागि असमानरुपमा बजेट विनियोजन भएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.