संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल

डिसी नेपाल
३१ जेठ २०८० १३:५०
44
Shares

काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ।

समितिको आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन्। ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गरेका पशुपतिशम्शेर जबराले उजरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजुरीमाथि छलफल अगाडि बढाउने जानकारी दिए।

यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए।

सांसद महेश बर्तौलाले उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढंगले छलफल गर्नुपर्ने उनको भनाइ थियो।

अर्का सांसद रमेशजंग रायमाझीले भने, “कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने ? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ।” – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.