देउवाले शेखरसँग निकटता बढाएपछि नजिकिँदै गगन-पूर्णबहादुर
काठमाडौं। नेपाली कांग्रेसको आन्तरिक समीकरणमा बद्लाव आउन थालेको छ। सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाबीच निकटता बढेपछि कांग्रेसको समीकरण बदलिने संकेत देखिएको हो।
सभापति देउवाका विश्वास्पात्र मानिएका उपसभापति पूर्णबहादुर खड्का देउवाको पछिल्लो गतिविधिले असन्तुष्ट देखिएका छन्।
उनले पार्टीका अलग्गै खेमाका नेता शेखर कोइरालासँग देउवाले निकटता बढाएपछि सशंकित बन्दै महामन्त्री गगन थापासँग सहकार्य गर्ने योजनामा पुगेको स्रोतले जनाएको छ।
कांग्रेसको १४ औं महाधिवेशनमा देउवा टिममा रहेर उपसभापतिमा विजयी भएका खड्का उनका विश्वासपात्र हुन्। हाल कांग्रेसबाट सरकारमा नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका छन्।
कांग्रेसको भावी सभापतिको रुपमा हेरिएका खड्काले देउवाको निकटता कोइरालासँग बढाएपछि आगामी १५ औं महाधिवेशनमा महामन्त्री थापासँग सहकार्यका लागि तयारी गरेको स्रोतको दाबी छ।
गएको १४ औं महाधिवेशनमा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित थापा प्रतिनिधिसभा निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका थिए। कांग्रेसमा प्रधानमन्त्रीका बन्न संसदीय दलको नेता हुनुपर्ने प्रावधान छ।
कांग्रेसमा सिनियर नेता हुँदाहुँदै युवापुस्ताका महामन्त्री थापाको प्रधानमन्त्रीको दाबेदारीले उनकै टिमका नेताहरु सन्तुष्ट थिएनन्।
फलस्वरुप संसदीय दलको निर्वाचनमा सभापति देउवासँग लज्जास्पद पराजय व्यहोरेका थिए।
कांग्रेसका ८९ सांसद मतदाता रहेको संसदीय दलको निर्वाचनमा महामन्त्री थापाले २५ मतमात्रै पाएका थिए। उनकै टिमका कतिपय नेताहरुले समेत उनलाई मत नदिएको कांग्रेस स्रोत बताउँछ।
महामन्त्री थापाकै महत्वकांक्षी रवैयाले उनकै टिममा रहेका उपसभापति धनराज गुरुङ लगायतका नेताहरु असन्तुष्ट रहेको चर्चा छ। स्वयम कोइराला पनि थापाको प्रवृत्तिबाट आजीत रहेको बताइन्छ।
त्यसैले महामन्त्री थापाको महत्वाकांक्षी र प्रचामुखी प्रवृत्तिबाट आक्रान्त कांग्रेसभित्रको कोइराला टिममा रहेका नेताहरुले समेत शेखरलाई देउवासँग निकटता बढाउन दबाव दिएको बताइन्छ।
आफूलाई धोका दिएर सभापति देउवासँग निकटता बढाएपछि थापा पनि उपसभापति खड्कासँग सहकार्य गर्न लचक रहेको स्रोतको दाबी छ।







डिसी नेपाल








Facebook Comment