अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदुत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ।
भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा म विश्वस्त रहेको बताउँदै आगामी वर्ष नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक बिकासका लागि महत्वपूर्ण हुने गरि मनाउनुपर्ने कुरामा जोेड दिए।
अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक बिकासमा दक्षिण कोरियाको सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना नेपालमा नै राखेर उत्पादन गर्न आग्रह गरे।
तिमिस्लिसनाले अहिले कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमा नै काराखाना राख्दा श्रम समेत सस्तो हुने भएकाले कोरियालाई कम्पनीलाई पनि ब्यापारमा थप लाभ हुन सक्ने बताए।
उनले आफूँले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस बिषयमा कुरा राखेको कुरामा जोड दिए। उनले भविश्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रने बिश्वास ब्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले कोरियाली पर्यटकहरुको नेपाल प्रति आकर्षण रहेका आगामी दिनमा पर्यटकको संख्या दोब्बर बृद्धि गर्ने उद्देश्य सहित काम अघि बढाउन सुझाब दिँदै नेपाल एयरलायन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गरे।
यसले नेपाल आउने पर्यटकको संख्या बृद्धि हुने बिश्वास ब्यक्त गरे। दुबै एयरलायन्सले उडान सञ्चालन गर्दा भाडादर पनि सस्तो हुन जाने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक दुबै लाभान्वित हुन सक्ने कुरामा ध्यानाकर्षण गराए।
राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै कोरियामा सिकेको सिप र आर्जन गरेको पुंजीलाई नेपालमा फर्केर उद्योग तथा ब्यबसायमा लगाउन आग्रह गरे।
अहिले नेपाल फर्केपछि घर र गाडीमा लगानी गर्ने क्रम बढेकोमा उनले चिन्ता ब्यक्त गरे। त्यसको साटो रोजगारी सृजना गर्दा देश र उनीहरुलाई पनि फाइदा हुन सक्ने कुरामा उनको जोड थियो।
उनले नेपाली श्रमिक शिष्ट, मेहनती र अनशासित रहेको बताउँदै नेपालबाट जाने श्रमिकको संख्या आगामी दिनहरुमा बढ्दै जाने बिश्वास ब्यक्त गरे। उनले नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए।
कोरियाको संसदमा कोरिया-नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको संघीय संसदले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे।
नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युत लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए।







डिसी नेपाल








Facebook Comment