बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै
गल्याङ। कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो।
सडक विभाग पुल महाशाखाअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरबीच पुल निर्माणका लागि २०७९ भदौमा सम्झौता भएको हो। निर्माण कम्पनीका इन्जिनियर मनिष भण्डारीका अनुसार उक्त पुल रु १५ करोड ४९ लाखको लागतमा ३३ महिनामा सक्ने गरी बन्न लागेको हो।
उक्त पुल १२०.८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। पैदलयात्रुका लागि दायाँबायाँ फुटपाथ निर्माण गरिने छ। कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोरसमेत जोड्ने पुलले पाल्पाको मिसन अस्पताल, पर्यटकीयस्थल रानीघाट, तराईका जिल्लामा आवगमन गर्न सहज हुने इन्जिनियर भण्डारीले बताए। पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि पहल गर्दैआएको थियो।
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका अनिष न्यौपानेले स्याङ्जाबाट मिसन अस्पताल जाने छोटो बाटो नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपरेका थुप्रै घटना बेहोर्नुपरेको सुनाए। “पुल निर्माण गर्ने वर्षौंको हाम्रो सपना पूरा भएको छ”, उनले भने, “मिसन अस्पताल जानआउन पुलले बाटो छोट्याउने भएपछि हामी खुसी छौँ।” मोटरेबल पुल निर्माण भएपछि मालसमान ढुवानी गर्न, धार्मिक तथा पर्यटकीय यात्रा गर्न सहज हुने विश्वास गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment