गुरही थारू समुदायको संस्कृति र प्रकृतिप्रतिको गहिरो सम्बन्ध झल्काउने मौलिक पर्व हो : मन्त्री चौधरी

डिसी नेपाल
१ भदौ २०८३ २०:३०

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व थारू समुदायको संस्कृति, परम्परा र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने मौलिक पर्व भएको बताएकी छन्।

काठमाडौंमा आयोजित गुरही कार्यक्रमलाई सम्बोधन गर्दै गुरही अर्थात् गाइने किराको पूजा गर्ने परम्पराले थारू समुदाय प्रकृतिमा रहेका हरेक जीवप्रति सम्मान र संरक्षणको भावना राख्दै आएको पुष्टि हुने उनको भनाइ छ।

मन्त्री चौधरीले गाइने किरा पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण लाभदायक जीव भएको उल्लेख गर्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए। गाइने किराले मानिसलाई हानी पुर्‍याउने तथा रोग सार्न सक्ने विभिन्न साना किराहरू नियन्त्रणमा सहयोग गर्ने भएकाले कृषि, स्वास्थ्य र वातावरणीय सन्तुलनमा यसको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘हाम्रो संस्कृतिले प्रकृतिमा रहेका हरेक जीवको सम्मान गर्न सिकाउँछ । गुरही पर्वमा गाइने किराको पूजा गर्ने परम्परा हाम्रो प्रकृतिप्रतिको सम्मान र संरक्षण चेतनाको उत्कृष्ट उदाहरण हो।’

मन्त्री चौधरीले संस्कृति र परम्परालाई संरक्षण गर्दै त्यससँग जोडिएका प्रकृति तथा जैविक विविधताको संरक्षणलाई समेत अघि बढाउनुपर्नेमा जोड दिइन्। गुरही पर्वले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, प्रकृति संरक्षण र सामाजिक सद्भावबारे ज्ञान तथा चेतना प्रदान गर्ने उनको भनाइ छ।

गुरही पर्व थारू समुदायको मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैले योगदान गर्नुपर्ने मन्त्री चौधरीले बताइन्।

उनले गुरही पर्वले थारू समुदायमा आपसी एकता, सद्भाव र भाइचारा अझ मजबुत बनाउँदै प्रकृति संरक्षणको सन्देश फैलाउन सफल होस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *