रवि भन्छन्- राजनीतिक दस्तावेज र नाराभन्दा व्यवहारप्रद राजनीतिक अभ्यास गर्नेछौं
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ। सोमबार पार्टी सभापति रवि लामिछानेले क्लबको लोगो सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।
क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तसँगै व्यवहारमा पनि फरक राजनीतिक अभ्यास अघि बढाउन खोजेको बताए।
उनले राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन निश्चित समय लाग्ने उल्लेख गरे।
उनले भने, ‘हाम्रो राजनीति दस्तावेज, नारामा र सिद्धान्तमा बढी तर व्यवहारमा अलिकति कमजोर हो कि भन्ने महसुस गरेर फरक राजनीतिक अभ्यासमा प्रवेश गरेका छौं। राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन निश्चित समय लाग्छ।’
राजनीतिक दल सरकारमा पुग्न वा संसद्मा महत्वपूर्ण उपस्थिति जनाउन सक्ने भए पनि राजनीतिक दलका रूपमा स्थापित हुन आवश्यक अभ्यास र प्रक्रियाहरू पार गर्न समय लाग्ने उनको भनाइ थियो।
लामिछानेले दल वैचारिक रूपमा स्पष्ट हुँदै आफ्ना विचार आम नागरिकसम्म पुर्याउन समय लाग्ने बताए। साथै, आवश्यक नेतृत्वको खोजी र राजनीतिमा ‘मेरिटोक्रेसी’ स्थापित गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ र ‘निर्देशिका कानुनी’को अवधारणा अघि सारिएको उनले जानकारी दिए।
उनले भने, ‘राजनीतिक दल सरकार बन्न सक्ला, संसद्मा महत्वपूर्ण संख्या हासिल हुन सक्ला तर राजनीतिक दल बन्ने केही चलनहरू छन्। ती चलनहरू पार गर्न केही समय लाग्छ। वैचारिक रूपमा आफूलाई स्पष्ट पार्न, विचारहरु आम नागरिकमा पुर्याउन केही समय लाग्छ। त्यसका अलावा हामीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने, राजनीतिक संगैको एउटा ‘मेरिटोक्रेसी’ को विन्दु के होला भनेर सोचेर हामीले क्यान्डिडेट क्लब र निर्देशिका कानुनीको अवधारणा ल्याएका हौं।’
उनका अनुसार ‘क्यान्डिडेट क्लब’मार्फत आवश्यक नेतृत्व पहिचान गर्ने र राजनीतिक क्षेत्रमा योग्यता तथा क्षमताका आधारमा अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment