मनाङका चौपायामा पनि लम्पी स्किन

डिसी नेपाल
२८ असार २०८० ११:५७
104
Shares

मनाङ। हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए।

उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ। गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए। “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भने।

किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताए। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उनले बताए।

उक्त गोरु होचो कदको रहेको छ। “गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रवन्ध मिलाएका छौँ”, कुसुमले भने।

मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो। मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिए। मंगलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए। मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *