पानीको मूल फुटेन, रोपाइँ भएन

डिसी नेपाल
२८ असार २०८० १२:२१
300
Shares

म्याग्दी। असार अन्तिम सातासम्म पनि पानीको मूल फुट्न नसक्दा म्याग्दीमा अझै रोपाइँ हुन सकेको छैन। पर्याप्त वर्षा नहुँदा जिल्लामा ४८ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो।

विगतका वर्षमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् ।

मूल फुटेर, खहरे तथा अन्य खोलामा पानी आउने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानले बताएका छन् । “पानी पर्ला र रोपाइँ सुरु गरौँला भन्ने सुरुमा छौँ”, बेनी नगरपालिका–२ का किसान टीका कार्कीले भने।

खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् । भेलबाढी बग्न पर्ने खोलामा खडेरीले गर्दा आजसम्म कमिला हिँड्ने गरेका किसान बताउँछन्।

केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेको थियो । पछिल्ला वर्षमा वर्षा अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए।

आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन ।

मकै पाकेपछि थन्क्याएर रोपाइँका लागि खेतका गरा तयारी अवस्थामा राखिए पनि पानीकै अभावमा रोप्न नसकेको कृषक बताउँछन्।वर्षा नहुँदा मकै लगाएको खेत खाली भएको धेरै दिन भएको भए पनि रोपाइँ गर्न नसकिएको मङ्गला गाउँपालिका–४ का कृषक पूर्णबहादुर रोकाले बताए।

जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गरा चर्किएको बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले अहिलेसम्म करिब ५२ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिए। अघिल्लो वर्ष यही समयमा अहिलेको भन्दा धेरै रोपाइँ भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा कृषक चिन्तामा परेको उनको भनाइ छ ।

जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार आठ सय ८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ ।

गत वर्ष १३ हजार तीन सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकामा एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *