उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता

डिसी नेपाल
१ भदौ २०८३ २१:४६

काठमाडौं । उपसभामुख रुबी ठाकुरले ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा औपचारिक रूपमा जाहेरी दर्ता गराएकी हुन्।

ललितपुरका एसएसपी तुलबहादुर कार्कीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जानकारी दिएका छन्। जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा गम्भीर असर पुर्‍याएको ठाकुरको दाबी छ। उक्त सामग्रीलाई आधार बनाउँदै उनले श्रेष्ठमाथि कानुनी कारबाहीको माग गरेकी हुन्।

यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार मात्रै रिहा गर्न आदेश दिएको थियो। साउन २५ गते ‘जनआस्था डटकम’मा चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए। उक्त घटनामा दिपिका सिंहले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन्। सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका श्रेष्ठ सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएपछि रिहा भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *