सडक छेउमा मकै बेचेर जीवन निर्वाह

डिसी नेपाल
४ साउन २०८० १५:४८
140
Shares

कैलाली। कैलालीको टीकापुर नगरपालिका–१ भुपू कमैया शिविरका कलैया थारुका दिन मजदुरी गरेरै बित्दै आएको छ। दिनभर मजदुरी गरेर जीविका चलाउँदै आएका उनी एक वर्षभन्दा बढी समयदेखि आफ्नै काममा व्यस्त छन्। कामको खोजीमा दौडधूपमा रहने कलैयाले पछिल्लो समय सडक छेउमा मकै पोलेर बिक्री गरेर जीविका चलाउँदै आइरहेका छन्।

अरुको बारीबाट मकै खरिद गरेर श्रीमान् र श्रीमती दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता मकै पोल्न थाल्छिन्।

“केही गरेर खानलाई आफूसँग तागतभन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्न जग्गा छैन”, कलैया भन्छन्, “अरुको बारीबाट मकै खरिद गरी पोलेर बिक्री गर्ने गरेका छौँ । त्यसैबाट आएको पैसाले घर खर्च चलाउन थालेका छौँ ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्म कमाई हुने कलैया बताउँछन्।

एकतापुर शिविरकी कल्याणी चौधरीको दिन पनि यसैगरी बजारका चोकचोकमा मकै बेचेरै बित्ने गरेको छ । खाना खाएर मकैको कट्ठा बोकेर टीकापुर पुग्ने उनले तीन वर्षदेखि मकै बिक्री गर्दै आएकी छिन्। अहिले मकैको याम भएकाले कल्याणीलाई पोलेको मकै बिक्रीमा समस्या छैन।

“ज्यालादारीमा भने बेलामा काम पाइँदैन । पाएको काममा पनि कमाईभन्दा बढी वचन सुन्नुपर्ने ।” कल्याणी भन्छिन्, “त्योभन्दा काँचो मकै ल्याएर पोलेर बिक्री गर्दा राम्रो । कमाई पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उनी आफूसँग खेती गर्नका लागि जग्गा नभएकाले अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताउँछिन्।

टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा नेपाल आर्मीमा छन्। श्रीमान् पनि भारतमा कमाउँछन्। उनलाई कसैको कमाई खाएर बस्ने रहर छैन। आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जिवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्छिन्। “आफूसँग काम गर्ने तागत छ । किन अरुको भरोसामा बाँच्नु । आफ्नै कमाइले जीवन चलाउन मैले जानेकी छु”, उनी भन्छिन्, “आफ्नो कामबाट सन्तुष्ट छु । वार्षिक रु पाँचदेखि रु छ लाखसम्म कमाइ हुन्छ ।”

सञ्जिवनीले पाँच कट्ठा जग्गामा मकैखेती गरेकी छिन्। आफैँले फलाएको मकै ल्याएर उनले बजारमा बिक्री गरेकी हुन्। “पोलेर बिक्री गर्नकै लागि पाँच कट्ठामा मकैखेती गरेकी छु । त्यहीँ मकै ल्याएर आगोमा पोलेर बिक्री गर्दै आएकी छु”, उनी भन्छिन्, “एक याममा मकै बेचेर रु ५० हजारदेखि रु ६० हजारसम्म कमाइ हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुने गर्छ ।” तरकारी खेतीबाट पनिे राम्रो आम्दानी गर्ने गरेको सञ्जिवनी बताउँछिन्।

यतिबेला गर्मी सुरु भइसकेको छ । बजारका विभिन्न ठाउँमा रुखमुनि शिथिलतामा बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन्। पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन्। कतिपयले मकैखेती आफैँ गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर रु २० देखि रु २५ सम्मँमा सजिलै बिक्री गर्ने गरेका छन् । विपन्न परिवारका पुरुष कमाउनका लागि बाहिर जाने र महिलाले भने गाउँमै अर्थोपार्जन गर्दै आएका छन् । काम नभएको समयमा भने अन्य किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्नेलगायतका काममा व्यस्त हुने गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं ३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्छन्। श्रीमान् श्रीमती दुवै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोलेर बिक्री गर्ने गर्छन्। ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका उनी चार वर्षदेखि यो बेला बजारमा मकै बेच्ने काम गर्दै आएका हुन्।

“थोरै मेहनतमा राम्रो आम्दानी हुने भएपछि राम्रो आम्दानी पनि हुने गरेको छ । मकै बेचेर केही महिनासम्मका लागि घर खर्च र अहिलेका लागि छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ”, राधेश्याम भन्छन्, “गर्मीयाममा मजदुरी गरेर जिविका चलाउन पनि मुस्किल हुन्छ । मजदुरी गर्नुभन्दा यो बेला मकै बेच्नु राम्रो छ ।”रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *