हतुवागढीमा महिनाको एक दिन श्रमदान
काठमाडौं भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ।
गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो।
प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।
‘श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भने, ‘आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ। अब महिनामा एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्छौँ।’
अभियानको यहाँ निर्माण भइरहेको पदमार्गलाई लक्षित गरेर सुरुआत गरिएको उनको भनाइ छ । पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएको अध्यक्ष राईले जानकारी दिए।
‘घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ पैदलमार्ग हाम्रो गौरवको योजनाका रूपमा रहेको छ’, उनले भने, ‘यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गका रूपमा स्थापित गर्ने लक्ष्य छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका ‘अर्नामेन्ट प्लान्ट’ रोपेका छौँ।’
पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।
यो रकममध्ये रु ७५ लाख लागतले दिमालुङ उद्यानमा सिमेन्ट र तारजालीसहितको घेराबारा, शौचालय, गेट निर्माणलगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए।
बाँकी रहेको रकमबाट दिमालुङ स्मारक उद्यान निर्माण गरिएको उनको भनाइ छ। यो स्मारक उद्यानलाई अझ विस्तार गर्नका लागि केन्द्र र प्रदेश सरकार तथा सम्बन्धित निकायसँग बजेट माग गर्ने गाउँपालिकाले जनाएको छ।
‘यहाँ निकै ठूलो क्षेत्रमा दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क निर्माण भइरहेको छ’, उनले भने, ‘उपलब्ध बजेटमध्ये दिमालुङ पार्कको संरक्षण तथा विकास गरेका छौँ । खास गरेर यहाँ पर्यटकलाई लक्षित गरेर बगैँचासँगै वनभोजस्थल निर्माण गर्ने लक्ष्य छ। निर्माणाधीन दिमालुङ स्मारक पार्कलाई अझ विकास तथा विस्तार गर्न सम्बन्धित निकायसँग बजेट माग गर्ने योजना छ।’
श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बू, सम्पूर्ण वडाका वडाध्यक्ष, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयवासीलगायतले श्रमदान गरेका हुन् । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment