लागुऔषधसहित १८ जना पक्राउ
फाईल तस्बिर
काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–३ तिनपिप्लेबाट अवैध लागुऔषध गाँजा करिब १ किलो ४ सय ग्रामसहित सोही नगरपालिका–५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जन समेत तीनजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा।२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बाराको जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत सातजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र दुईजना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागुऔषध गाँजा ३ किलो ४ सय ग्रामसहित भारत फार्विसगंज-१२ बस्ने ३० वर्षीयको गुद्दु साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट अवैध लागुऔषध खेरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगर समेत पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलो १ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment