सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। खानतलासीका क्रममा उनीहरूको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको हतियार कहाँबाट ल्याइएको हो, के प्रयोजनका लागि राखिएको थियो र यसमा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जनाएको छ।
Facebook Comment