चीनले नयाँ नक्सा जारी गर्दै अरुणाचल प्रदेशलाई आफ्नो देखायो
काठमाडौं । चीनले सोमबार नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले यसलाई ‘मानक नक्सा’ भनेको छ । यो नक्सामा अरुणाचल प्रदेश, अक्साई चिनलाई एकपटक फेरि चीनको हिस्सा भनिएको छ।
चीनको यो नक्सामा साउथ चाइना सी, ताइवानलाई पनि चीनको हिस्सा भनिएको छ । यो नक्सा साझा गर्दै सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘चीनको २०२३ को मानक नक्सा सोमबार सार्वजनिक गरिएको छ। यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको रेखाचित्र पद्धतिको आधारमा बनाइएको हो ।’
बीजेपी नेता सुब्रमण्यम स्वामीले चीनको यो नयाँ नक्सालाई लिएर व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।
सुब्रमण्यम स्वामीले भने, “मोदीलाई भन्नुहोस् कि यदि उनले कुनै बाध्यताले भारत माताको रक्षा गर्न सक्दैनन् भने कम्तिमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस्। भारतलाई झूटले बचाउन सकिँदैन। भारतले अर्को नेहरू सहन सक्दैन।”
यो नक्सा केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएको बेलामा सार्वजनिक गरिएको हो । दुवै देशका नेताबीच सीमा विवादबारे पनि कुराकानी भएको थियो ।
यसअघि अप्रिल २०२३ मा, चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।
चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैध रूपमा कब्जा गरेको दाबी गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment