गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौं : प्रधानमन्त्री दाहाल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धधन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।
वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। गठबन्धन भत्काउने प्रयास कोशी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उनले भने, ‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विक्षिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए।’
वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ। उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए।
संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो।
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन्। पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने “देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।”
प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे । “अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्”, उनले भने ।
वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उनको भनाइ छ । उनले थपे, “अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो । यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ ।”
प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए । “म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधिनता, असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा पु¥याएको छ”, उनले भने ।







डिसी नेपाल








Facebook Comment