उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसी बोकाको मूल्य

डिसी नेपाल
३ कार्तिक २०८० १३:५१
312
Shares

काठमाडौँ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।

खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो रु १० छुट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो । पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताए। खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो । हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ ।

अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ । फुलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ । “आज, फूलपाती र अष्टमीमा खसी बोकाको बिक्री हुने हो, लामो समयम्म राख्दा दानापानी तथा स्याहार सुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो”, सूचना अधिकारी न्यौपानेले भने।

काठमाडौँ उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसीबोका बिक्री गर्दै आइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *