राष्ट्रपति पौडेलद्वारा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना

डिसी नेपाल
७ कार्तिक २०८० ६:५३
8
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्। विजया दशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गरेका छन्।

उनले चाड विजया दशमी, २०८० को शुभ अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु।’

उनले अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् कामना गर्दै भनेका छन्, ‘यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु।’

यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको अवसरमा आजै सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम रहको छ।

उनले राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई तथा ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका-जमरा लगाइदिने छन्।

सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत कार्यालयले आग्रह गरेको छ।

राष्ट्रपति पौडेलले भने ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट टिकाको शुभसाइत विहान ११ वजेर २ मिनेट जादा टिका जमरा र आर्शीवाद लिने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *