दशैंमा सुस्ताएको राजनीतिभित्र नेपथ्यमा ‘चलखेल’

डिसी नेपाल
८ कार्तिक २०८० १७:५२
948
Shares

काठमाडौं। नेपालीहरुको महान चाड विजया दशमीमा मान्यजनको हातबाट टीका र आर्शीवाद ग्रहण गर्ने क्रम अझै केही दिन चल्नेछ।

धार्मिक मान्यता अनुसार पूर्णिमासम्म विजया दशमीको टीका ग्रहण गर्न सकिन्छ। योबीचमा नेतादेखि सर्वसाधारणसम्म दशैं मनाउन व्यस्त छन्। अर्थात बाहिरबाट हेर्दा राजनीतिक सुस्ताएको छ।

के बाहिरबाट देखेजस्तै अहिले नेपालको राजनीति सुस्ताएकै हो। राजनीतिक जानकारहरु भने त्यसलाई मान्न तयार छैनन्। उनीहरु नेपथ्यमा ‘चलखेल’ भइरहेको संकेत गर्दछन्।

विशेष गरी संघीय सरकारको समिकरण फेर्न विभिन्न प्रयास भइरहेका छन्। नेपथ्यमा भएको चलखेलले मूर्त रुप नलिएसम्म अहिले नै केही भन्न सकिने अवस्था भने नरहेको उनीहरुको भनाइ छ।

वर्तमान सरकार परिवर्तन गर्न मुख्य गरी नेपाली कांग्रेस तयार हुनुपर्छ। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा त्यसका लागि तयार भइसकेका छैनन्। तर उनीमाथि समीकरण फेर्न चर्को दबाव छ। ‘सुरुमा शेखर कोइराला समूहले मात्रै सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ भनेर दबाव दिँदै आएको थियो।

तर अहिले संस्थापन पक्षकै प्रभावशाली नेताहरु अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर सभापतिजीलाई दबाव दिन थालेका छन्,’ सभापति देउवा निकट एक नेताले भने, ‘सभापतिजीले मुख खोल्नु भएको छैन।’

देउवामा अहिले कांग्रेसको नेतृत्वमा सरकार बनाउन अग्रसर हुँदा फेरि पुस १० दोहोरिने हो कि भन्ने चिन्तामा छन्। निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिन अस्वीकार गर्दा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका थिए। पछि कांग्रेसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि पुरानै गठबन्धन कायम भएको थियो।

कांग्रेसभित्र सरकारको काम गराइप्रति व्यापक असन्तुष्टि छ। विकास निर्माण, रोजगारी र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा असफल भएको छ, खाली जनताको ध्यान अन्यत्र मोड्न पुराना फाइल खोलेर कारवाही गरेजस्तो गर्ने, ती फाइललाई पनि निष्कर्षमा पुर्याउन नसकेको भन्दै अब कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ।

सडकमा देखिएको हिन्दुराज्यप्रतिको माग र राजाप्रतिको मोहका कारण नेपथ्यमा अरु केही नयाँ चिज त पाकिरहेको छैन भन्ने आशंका जन्मिएको छ। नेपालमा हिउँदको समयलाई आन्दोलनका लागि उर्बर मानिन्छ। यो उर्बर समयमा ‘जे पनि हुन सक्ने’ राजनीतिक विश्लेषक बताउँछन्।

अझ महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट बाहिर बसेर सरकारलाई समर्थन गर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बेलामा पनि कांग्रेसले माओवादीलगायतको समर्थनमा एकल सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यसो हुँदा सरकारकाले गरेको सम्पूर्ण कामको जिम्मेवारी पार्टीले लिन सकिने उनको भनाइ छ।

तर कांग्रेसभित्रै कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्ने मत पनि बलियो बन्दै गएको छ। तर सभापति देउवा एमाले अध्यक्ष केपी ओलीसँग विश्वस्त हुन सकिरहेका छैनन्। ओलीको भर परेर आफ्नो नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुँदा फेरि ओली र प्रचण्ड मिल्ने हुन् कि भन्ने भय देउवामा छ।

एमालेले त्यसका लागि देउवालाई आश्वस्त पार्ने काम गरिरहेको छ। विशेष गरी दोस्रो तहका नेताहरु निरन्तर रुपमा कांग्रेस नेताहरुसँगको संवादमा छन्।
सभापति देउवाले भने अहिले आफूले प्रचण्डलाई धोका दिँदा प्रचण्डले पनि फेरि धोका दिएर मुखमै आउन लागेको प्रधानमन्त्रीको पद गुम्ने हो कि भन्ने भयका कारण कांग्रेस एमालेको कसरतले सार्थकता पाउन सकेको छैन।

हुन त कोशी प्रदेशमा एमाले र कांग्रेसको विद्रोही समूहको गठबन्धन बनिसकेको छ। अब अन्य प्रदेशमा पनि दुई दलबीच गठबन्धन गरेर त्यसलाई केन्द्रसम्मै कायम गर्ने गरी अगाडि बढ्नु पर्ने नेताहरुले बताउन थालेको छ।

त्यसको संकेत बागमती प्रदेशमा देखिन थालेको छ। बागमती प्रदेशमा अब कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल अगाडि बढेको बताइन्छ। हाल बागमतीमा माओवादी नेतृत्वमा छ।

आन्तरिक रुपमा भएका यी गतिविधि बाहेक पनि नेपथ्यमा हुने ‘चलखेल’ ले वर्तमान सरकारको आयु निर्धारण हुने राजनीति विश्लेषकहरु बताउँछन्।

वर्तमान सरकार विदेशीका लागि ‘कम्फार्टेवल’ भएकाले यही सरकारमार्फत आफूहरुको स्वार्थ पूरा हुने अवस्थामा अर्को सरकार गठन गरेर फेरि बनिरहेको वातावरण किन बिथोल्ने भन्नेमा पनि नेपथ्यमा विश्लेषण हुन थालेको छ।

तर फेरि सडकमा देखिएको हिन्दुराज्यप्रतिको माग र राजाप्रतिको मोहका कारण नेपथ्यमा अरु केही नयाँ चिज त पाकिरहेको छैन भन्ने आशंका जन्मिएको छ। नेपालमा हिउँदको समयलाई आन्दोलनका लागि उर्बर मानिन्छ। यो उर्बर समयमा ‘जे पनि हुन सक्ने’ राजनीतिक विश्लेषक बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.