अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुख डि होर्सबीच भेटवार्ता
लुवाण्डा (एङ्गोला)। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ।
अन्तरव्यवस्थापिका संघ (आइपियु) को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार दुबैजनाबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले सम्बन्ध प्रगाढ रहेको बताए।
दुवै मुलुकले अन्तर्राट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको उनले स्मरण गरे। उनले बिभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा एकअर्का देशलाई समर्थन गर्दैआएको कुरामा जोड दिँदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत गरेको योगदानका लागि धन्यवाद दिए।
नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदको महत्वपूर्ण भूमिका रहेको उनले बताए। “नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदहरुको महत्वपूर्ण भूमिका छ” अध्यक्ष तिमिल्सिनाले भने, “संसदीय अनुभवको आपसी आदनप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सबल बनाउने अवसर हाम्रोसामु छ।”
उनले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बीचमा लोकप्रिय भएकाले उल्लेख्य सङ्ख्यामा पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमका बीचमा धेरै समनताहरु रहेको बताउँदै जलवायु परिवर्तनको असर कम गर्न र मानवअधिकारको प्रवर्धन गर्न सहकार्य गर्न सकिने बताइन्। कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाइन्।







डिसी नेपाल








Facebook Comment