सहायता कक्षमा ‘दोभासे’ राख्दै कामपा

डिसी नेपाल
७ पुष २०८० २०:१२
20
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ ।

बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ । “नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,” कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भने । उनका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो ।

कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि उपलब्ध गराउने संयोजक केसीले जानकारी दिए । त्यस्तै कामपाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यावहारिकरप्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

इच्छा भएका सङ्घसंस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन आग्रह गरेको कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए । प्रमुख कोइरालाले भने, “विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यसहीत विद्यालयमा तालिम प्रदायक सङ्घसंस्थालाई सूचीकृत हुन आग्रह गरिएको हो ।”

कामपाले आफ्नो क्षेत्रमा सञ्चालित मध्येका ८१ वटा सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत हरेक शुक्रबार किताबमा भएकाभन्दा फरक र व्यावहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

चालु आर्थिक वर्षमा शिक्षाको लागि जम्मा रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमको लागि छुट्टै बजेटको व्यवस्था गरेको छ । कामपाको मागअनुसार सूचीकृत हुने सङ्घ संस्थाले चालु आवको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाको कक्षा हुनेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *