नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

डिसी नेपाल
१३ कार्तिक २०८३ १९:५३

काठमाडौं। नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने)को आयोजनामा काठमाडौंको मेरियट होटलमा सम्पन्न सम्मेलनमा सरकारी अधिकारी, उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो।

सम्मेलनमा नेपालको डिजिटल अर्थतन्त्र, विश्व बजारमा नेपाली व्यवसायको सम्भावना, वैदेशिक लगानी, उद्यमशीलता र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तारलगायतका विषयमा छलफल गरिएको थियो। नेपाली उद्यमी तथा व्यवसायीलाई देशको सीमाभन्दा बाहिर पुगेर आफ्नो व्यवसाय विस्तार गर्न प्रोत्साहित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको फिनेका आईइसी अध्यक्ष गाेकर्ण ढकालले बताए।

कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले गरेका थिए। मन्त्री शाहले देशको आर्थिक विकास र समृद्धिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले नेपालमा आयात भइरहेका वस्तुहरूको पहिचान गरी ती वस्तु स्वदेशमै उत्पादन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियाे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुनाखर भट्टले युवा उद्यमी तथा व्यवसायीको लगानीको दायरा विस्तार गर्नुपर्ने बताए। उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै लगानीका अवसर र प्रतिफलबारे अन्तर्राष्ट्रिय लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले कार्यक्रममा आफ्नो धारणा राखे। सार्क उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चण्डीराज ढकालले कार्यक्रमलाई सान्दर्भिक बताउँदै सीमापार व्यावसायिक सम्बन्ध र लगानी सहकार्य विस्तारका लागि यस्ता पहल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।

फिनेका महासचिव दिपेन घलेले संयाेजन तथा संचालन गरेकाे कार्यक्रममा संस्थाका सचिव धर्म अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

सम्मेलनको मुख्य सम्बोधन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालका आवासीय प्रतिनिधि प्रणव गुप्ताले गरेका थिए। उनले नेपालको आर्थिक अवस्था, आर्थिक सुधार तथा सम्भावित अवसरका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको पहिलो प्यानल छलफल ‘नेपालको डिजिटल अर्थतन्त्र : फड्को, रूपान्तरण वा पछि पर्ने जोखिम?’ शीर्षकमा भएको थियो। काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाको सहजीकरणमा भएको छलफलमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) का डा. बिश्वास गौचन, नेपाल उद्योग परिसंघ (सीएनआई) का वीरेन्द्र पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सहभागी थिए।

छलफलमा डिजिटल पूर्वाधार, प्रविधि, नवप्रवर्तन, लगानी र नीतिगत सुधारमार्फत नेपालको अर्थतन्त्रलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा बहस भएको थियो। डिजिटल अर्थतन्त्रको विकासबाट उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सकिने सम्भावनाका साथै समावेशी डिजिटल अर्थतन्त्र निर्माणका चुनौतीबारे पनि छलफल गरिएको थियो।

त्यसैगरी, फिनेका हङकङ र अस्ट्रेलियामा आयोजित ‘आई-यस’ कार्यक्रमका प्रतिनिधिहरूले पनि आफ्नो अनुभव आदानप्रदान गरेका थिए। उनीहरूले अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन आयोजना गर्दा प्राप्त अनुभव, उपलब्धि र सिकाइबारे जानकारी गराएका थिए।

कार्यक्रममा फिनेको आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलन दुबईमा आयोजना गर्ने घोषणा पनि गरिएको थियो। नेपाली र नेपाललाई विश्वमाझ पुर्‍याउने मूल भावनासहित आयोजना हुन लागेको उक्त सम्मेलन सन् २०२७ अप्रिल १७ मा दुबईमा हुनेछ। फिनेका मध्यपूर्व क्षेत्रीय अध्यक्ष मनोज मरहट्टाले सम्मेलनको घोषणा गर्दै नेपाल र नेपाली उद्यमीलाई विश्वव्यापी व्यावसायिक सञ्जालसँग जोड्ने योजनाबारे जानकारी गराएका थिए। उक्त सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकका उद्यमी तथा व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ।

सम्मेलनको दोस्रो प्यानल छलफल ‘विश्व बजारदेखि आफ्नै भूमिसम्म : नेपालको आगामी व्यावसायिक अवसरको खोजी’ विषयमा केन्द्रित थियो। फिने आईइसीका वरिष्ठ उपाध्यक्ष शमिम अनवरको सहजीकरणमा भएको छलफलमा सिमजुङ कम्पनीकी अध्यक्ष कर्विका थापा, निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरिया र आध्यन्ता फन्ड म्यानेजमेन्टका संस्थापक मनोज पौडेल प्यानलिस्ट थिए।

उक्त छलफलमा अन्तर्राष्ट्रिय बजारको अनुभव, सीप, लगानी र व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा विचार आदानप्रदान भएको थियो। नेपालमा लगानीका सम्भावना बोकेका क्षेत्र, व्यावसायिक चुनौती, साझेदारीको आवश्यकता र उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक नीतिगत वातावरणबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा टाइटल स्पोन्सर लेजेन्ड्स प्रोपर्टीको भिडियो प्रस्तुति पनि देखाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *