‘कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्छ’

डिसी नेपाल
१८ फागुन २०८० २१:४९
8
Shares

लेखनाथ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने–‘जनताको चाहना राज्यका हरेक क्षेत्रमा हुने आर्थिक अनियमितता अन्त्य हुनुपर्ने रहेकाले कांग्रेसले जनताको भावनालाई बुझेर नेतृत्व गर्दै देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक छ।’

नेपाली जनतामा रहेको भ्रमलाई चिर्न पनि कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाइ थियो। देशमा भएका ठूल्ठूला भ्रष्टाचारका घटनाको पर्दाफास गर्न आवश्यक भएको उल्लेख गर्दै नेता केसीले राजनीतिक दलप्रति जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए।

‘पछिल्लो समय अदालतबाट न्याय सम्पादन सही रुपमा नभएको भन्ने गुनासा आएका छन्, यसप्रति सरकार सचेत हुन जरुरी छ,’ नेता केसीले भने, ‘दोषीलाई उम्कने अवस्था अदालतबाट सृजना गर्न हुँदैन।’

देशमा आर्थिक मन्दीको चुनौतीसँगै बेरोजगारी खडा भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। जनताको निराशा केही हदसम्म भए पनि समाधान गर्नुपर्ने नेता केसीको भनाइ थियो । कांग्रेस वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको उनले बताए। ‘जनतामाझ गठबन्धन सरकारले पाँच वर्ष शासन चलाउने वाचा गरेकाले त्यस्तो गठबन्धन तोड्ने पक्षमा कांग्रेस छैन,’ उनले भने, ‘त्यसप्रति कांग्रेस गम्भीर छ।’

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसले आफ्नो उम्मेदवारका रुपमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाएको नेता केसीले उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *