भ्रष्टाचारका फाइल खोल्दा जताजतैबाट दबाब आएर काम गर्न कठिनाइ भयो : कानुनमन्त्री गुरुङ

डिसी नेपाल
१९ फागुन २०८० २२:४३
16
Shares

तानसेन। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्।

आज तानसेन महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारबाही नगरेसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने भन्दै भ्रष्टाचार गर्नेलाई कानुनसम्मत कारबाही गरिने बताए। उनले भ्रष्टाचार नहटेसम्म मुलुकमा सुशासन तथा समृद्धि नहुने पनि उल्लेख गरे।

भ्रष्टाचार अन्त्यका लागि वडाअध्यक्षदेखि मन्त्रीसम्मका सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै उनले भ्रष्टाचारका फाइलहरु खोल्दा जताजतैबाट दबाब आएर काम गर्न कठिनाइ भएको बताए। ‘वडादेखि माथिसम्मका जनप्रतिनिधि र कर्मचारीमा अधिकृतदेखि माथिसम्मका सबैको सम्पत्ति छानबिन गर्छौ त्यसका लागि कानून समेत ल्याउने तयारीमा छौँ’, उनले भने।

तानसेन नगरपालिकाको आयोजनामा आजदेखि कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित महोत्सव सुरु भएको हो। महोत्सवमार्फत कृषि, पर्यटन, लघु तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ।

कृषि तथा घरेलु उत्पादन, पर्यटन विकासको उद्देश्यले महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। कृषि, स्थानीय उत्पादन, घरेलुसहित महोत्सवमा तीन सयभन्दा प्रदर्शनी कक्ष छन्। महोत्सव यही फागुन २९ गतेसम्म चल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *