नेपालको वर्तमान ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोगः मन्त्री किराती
खोटाङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए।
मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य गर्नमा सरकार लागिपरेको जानकारी दिनुभएको छ । “देशमा सुशासन कायम नभएसम्म शत्रुको रुपमा देखा परेको गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “देशमा अहिले साझा समस्याका रुपमा देखिएका गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न राष्ट्रिय सरकार आवश्यक छ । वर्तमान गठबन्धनलाई अझ बलियो बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । अनिमात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।”
मन्त्री किरातीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए। गठबन्धन निर्माण गर्दा जनतालाई देखाइएको सपना पूरा गर्नका लागि पनि वर्तमान गठबन्धन सरकारलाई कायम राख्नुपर्ने उनले बताए।
देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धि निर्माणको बाटो प्रारम्भ गर्नका लागि स्थायी सरकार आवश्यक रहेको मन्त्री किरातीले दाबी गरे। नेपालको संविधानले अंगिकार गरेअनुसार सबै राजनीतिक दल मिलेर वर्तमान सरकारलाई स्थायित्व दिनुपर्ने उनको भनाइ थियो।
मन्त्री किरातीले नेपालका हरेक घुम्ती तथा डाँडापाखा पर्यटनको सम्भावना बोकेको ठाउँ रहेको बताएका छन्।
“नेपालका हरेक जातजातिको छुट्टाछुट्टै विशेषता, छुट्टाछुट्टै भेषभूषा तथा संस्कार, संस्कृति छन् । यसलाई प्रवद्र्धन गर्न वर्तमान सरकार लागि परेको छ । मन्त्रालयले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा रैथाने शब्द समावेश गरिएको छ”, उनले भने, “पर्यटन प्रवद्र्धनका लागि हामीले अन्य देशको सिको गर्न आवश्यक छैन । रैथाने रहनसहनलाई प्रवद्र्धन गर्न सके यसैमा हाम्रो भविष्य छ । यसप्रति वर्तमान सरकारले गम्भीर भएर मिहिनरुपमा अध्ययन/अनुसन्धानसहित नीति निर्माण गरिरहेको छ ।”
मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ–जयाजुम, बराहपोखरी, जन्तेढुंगा, मझुवागढीलगायतका धार्मिक तथा ऐतिहासिकस्थलको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन गरिएको जानकारी दिए। मन्त्री किरातीले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयबाट विनियोजित बजेटलाई सही तरिकाले कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनपछि मन्त्री किरातीले दिक्तेलस्थित दिलकाजी–ठूलकुमार स्मृति भवनमा पार्टी कार्यकर्तासँग भेटघाटसमेत गरेका छन्। कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री किरातीसँगै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवं पूर्वसांसद टंक राईसमेत सहभागी भएका थिए।
मन्त्री किराती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ‘सोल्मा स्पोर्टस् क्लब सोल्मा’ले आयोजना गरेको ‘अण्डर–२३ पुरुष फुटबल प्रतियोगिता’ समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आएको जनाइएको छ।







डिसी नेपाल








Facebook Comment