गठबन्धनको निरन्तरतालाई लिएर विभिन्न अड्कलबाजी

डिसी नेपाल
२१ फागुन २०८० ६:५८
92
Shares

काठमाडौं। कोशीमा राष्ट्रिय सभा निर्वाचनको परिणामाबाट सुरु भएको सत्ता गठबन्धन भित्रको खटपटलाई लिएर यतिवेला सत्ता गठबन्धन कै निरन्तरतालाई लिएर विभिन्न अड्कलबाजीहरु भइरहेका छन्।

पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताबीच प्रधामन्त्री दाहालले गरेको राजनीतिक भेटवार्ता र संवादले त्यसलाई अझ तरंगित बनाउँदै लगेको छ।

आइतबार विहानदेखि सुरु भएको सत्ता पक्ष र प्रतिपक्षी नेताहरुसँग प्रधानमन्त्रीको भेटवघाटले साँझसम्म निरन्तरता पाए। आइतबार दिनभर प्रमुख दलका नेताहरुबीच आन्तरीक छलफल,भेटघाट र दौडधूप बाक्लियो।

गठबन्धन भित्रको खटपट भन्ने समाचारका बीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरुले सदनमा मन्त्रीको राजीनामा मागेर सदन अवरुद्धको चेतावनी दिइरहेका बेला सत्ता साझेदारदलहरु विपक्षीको माग समेत सम्बाेधन हुने गरी मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा आज बस्ने बैठकमा छलफल हुने बताइएकाे छ।

गठबन्धन भित्रको वर्तमान अवस्था र मन्त्रिमण्डल पुनर्गठनका विषयमा कुरा गर्न प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको तर्फबाट बनेका मन्त्रीहरुलाई निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका थिए।

छलफलमा दलका मन्त्रीहरुका साथै केही पदाधिकारीहो समेत सहभागिता रहेको थियाे। यसैबीच मन्त्रिमण्डल पुनर्गठनको प्रयास भइरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण पनि एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जानकारी दिएको छ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले सूचनामा भनेको छ।

यस्तै यता नेकपा माओवादी केन्द्रका नेताहरु पनि मन्त्रिमण्डल हेरफेरको सम्बन्धमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री दाहालले आइतबार साँझ पार्टीका तर्फबाट बनेका मन्त्रीका साथै पार्टी पदाधिकारीहरुलाई बैठकमा बोलाएर मन्त्रिमण्डल पुनर्गठन र टिआरसी विधेयकका सम्बन्धमा प्रतिपक्षीदल र सत्तापक्षका नेताहरुसँग भएको छलफलको बारेमा जानकारी गराएका थिए।

यतिबेला नेताहरुको भेटघाटका मुल उद्देश्य के हो भन्ने एकिन गर्न सहज छैन। किनकि एउटा मात्र विषय दलहरुको छलफलको विषय नभएर धेरै विषय यतिखेर सँगै उठेका छन्।

सत्तारुढ दलहरुबीच राष्ट्रिय सभाको अध्यक्षको लागि भएको दावी नेताहरुको व्यस्तता बढाउने मूल कारण हो । नेपाली काँग्रेस सहमति मै राष्ट्रिय सभाको अध्यक्ष चयन हुने कुरामा विश्वस्त छ भने माओवादी केन्द्रमा राष्ट्रिय सभाको अध्यक्ष लिनुपर्ने दवाव केन्द्रीय नेतृत्वलाई परेकाे छ। कोशीमा राष्ट्रिय सभाको निर्वाचन हुँदा माओवादी केन्द्रका उमेदवारको पराजय नै काँग्रेस र माओवादी वीचमा दरार ल्याउने मुख्य कारण भएको दुबै दलका नेताहरु स्वीकार्छन्।

दौडधूपको अर्काे कारण भनेकाे सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधयेक, जुन संसदीय समितिबाट सरकारले नै फर्काएको छ। यसमा प्रतिपक्षी दल एमाले पनि चलाखीपूर्ण रुपमा सत्तारुढ दलहरुबीचमा फाटो ल्याउन सकिन्छ कि भनेर लागेको राजनीतिका जानकारहरु बताउँछन्।

प्रधानमन्त्री दहाललाई आफ्नो यो कार्यकालको सबैभन्दा पेचिलो विषय नै टिआरसी विधयेक हो जसलाई टुंग्याउन प्रधानमन्त्रीको कसरत निकै बढी देखिन्छ। त्यसैले गठबन्धन भित्र र बाहिर समानन्तर सम्वादमा छन् प्रधानमन्त्री दाहाल।

अहिले सुशासन कायम गराउन सरकारले चालेका पहल कदमी र सरकारमै रहेका मन्त्रीहरुको कतिपय विषयमा संलग्नता भएको भन्ने चर्चाले पनि गठबन्धनमा समस्या देखिएकाे हाे। टेरामक्स खरिद प्रकृयामा पूर्व तथा बर्तमान मन्त्री र मुख्य सचिव बैकुण्ठ अर्यालको संलग्नताको विषयले पनि सिंगो राजनीति र प्रशासनिक संयन्त्रमा खैलाबैला पारेको छ। यसलाई पनि दलहरु कसरी अघि बढाउने भन्ने आन्तरिक र अन्तरदलीय संवादमा छन्।

नेपाली काँग्रेसको महासमितिले पारित गरेका प्रतिवेदनहरु, जसले वर्तमान गठबन्धनमा तरंग ल्याएको छ। यसले काँग्रेसको आन्तरिक जीवनमा कति फरक पार्ला भन्ने त छँदैछ त्यो भन्दा बढी वर्तमान गठबन्धन र भावी चुनावी तालमेलको विषय पनि पेचिलो बनेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.