काठमाडौं–तराई द्रुतमार्गलाई समयमै सक्न निर्देशन
काठमाडौं। नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताए। उनले राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र विकासमा मन्त्रालय तथा नेपाली सेनाले देखाउँदै आएको क्रियाशीलतालाई कायम राखी प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री उप्रेतीले नेपाली जनताको अगाध आस्था र विश्वासको धरोहर रहेको नेपाली सेनाको क्षमता विकासका काममा प्राथमिकता दिइने बताए। उनलाई मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदाधिकारीले स्वागत गरेका थिए।
विसं २०३७ मा काठमाडौंको सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति भएपछि राजनीतिमा होमिएका मन्त्री उप्रेतीको यस मन्त्रालयमा दोस्रो आगमन हो। विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित उप्रेती गत निर्वाचनमा सर्लाही क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०७९ सालमा डेढ महिना रक्षामन्त्री रहहेका थिए। एमालेको केन्द्रीय स्थानीय तह विभागका सदस्य उप्रेती सो पार्टीको मधेस प्रदेश कमिटीको पूर्वसदस्य रहीसकेका छन्।







डिसी नेपाल








Facebook Comment