दशैंको उल्लासमै विदेसिने युवाको लर्को: खुसी छाडेर रोजगारी र भविष्यको खोजीमा त्रिभुवन विमानस्थलमा भीड

डिसी नेपाल
५ कार्तिक २०८३ १७:५८

काठमाडौं।नेपालीहरूको महान् चाड बडादशैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो देशभर चलिरहेका बेला पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने नेपालीहरूको क्रम रोकिएको छैन।

दशैंको दोस्रो दिन कात्तिक ५ गते पनि आफ्नै घरआँगनको खुसी छाडेर आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवतीहरू विदेश प्रस्थान गरिरहेका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैंका बीचमा पनि विदेश जाने यात्रुहरूको बाक्लो भीडभाड कायमै देखिएको छ। विमानस्थल हुँदै विभिन्न देशका लागि उड्ने नेपालीहरूमध्ये अधिकांश रोजगारीको खोजीमा जाने युवायुवतीहरू रहेका छन् भने उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपालीहरूको उपस्थिति पनि उत्तिकै देखिन्छ।

सामान्यतया चाडपर्वका बेला परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रहरूसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा रहँदै आएको छ।

तर, केही वर्षयता स्वदेशमा पर्याप्त अवसर नहुँदा रोजगारी, आर्थिक समृद्धि र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाहरूको सङ्ख्या निरन्तर बढ्दो क्रममा छ। अन्तर्राष्ट्रिय विमानस्थलमा चाडपर्वकै बेला देखिने युवाहरूको यो ठूलो भीडले नेपाली समाजको बदलिँदो, जटिल आर्थिक तथा सामाजिक अवस्थालाई प्रस्टसँग चित्रण गर्छ।

आफ्नै गाउँघर, सहर-बजार अर्थात् स्वदेशमै अध्ययन, पेसा वा व्यवसाय गरेर बस्नुको साटो विदेशतर्फ नै आकर्षित हुने आमप्रवृत्तिका कारण देशका गाउँघरहरू क्रमशः रित्तिँदै गएका छन् भने उर्वर खेतबारीहरू बाँझै रहने अवस्था सिर्जना भएको छ।

यसैबीच, वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्न विमानस्थल पुग्नुभएका सिरहाका लखनकुमार यादवले नेपालमा क्षमता अनुसारको रोजगारी नहुँदा चाडपर्वकै मुखमा देश छाड्न बाध्य भएको पीडा पोखे।

उनले आफ्नै देशमा योग्यता र क्षमताअनुसारको काम पाउने सुनिश्चितता भइदिएको भए दशैंको बीचमा परिवार छाडेर जाने मन कसैको नहुने बताउँदै आफू र आफ्ना परिवारको उज्ज्वल भविष्यका लागि विदेश जानुपरेको स्पष्ट पारे।

शिक्षा र स्वास्थ्यको उचित व्यवस्था मिलाउँदै परिवारको दैनिक गुजारा चलाउन, आर्थिक अवस्था सुधार्न र भविष्यका लागि केही बचत गर्ने सपना बोकेर नेपाली युवाहरू यसरी मरुभूमि र विदेशी भूमिमा पसिना बगाउन बाध्य भइरहेको उनको भनाइ छ।

विमानस्थलमै भेटिनुभएका गुल्मीका प्रकाश खत्रीले पनि स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नु नै युवा पुस्ता विदेशिनुको मुख्य कारण रहेको औंल्याए। नेपालमा एकातिर रोजगारीको अवसर नै नभएको र भइहाले पनि प्राप्त हुने सेवासुविधा अत्यन्तै न्यून रहेको उल्लेख गर्दै उनले एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनुको साटो सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने बाध्यता बनेको बताए।

अर्कातर्फ, आफ्ना छोरालाई विदेश बिदा गर्न विमानस्थल पुग्नुभएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले तत्कालका लागि परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी पलायन भइरहँदा मुलुकका लागि दीर्घकालीन ठूलो चुनौती उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरे।

दक्ष तथा मेहनती युवा शक्ति विदेश पलायन हुँदा आगामी दिनमा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक जस्ता राष्ट्रिय विकासका मुख्य क्षेत्रहरूमा आवश्यक जनशक्तिको चरम अभाव हुन सक्ने उनको बुझाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *