निरीह देश र संकटमा सभ्यता: आन्तरिक रूपान्तरण र दूरदर्शी सोचको खोजी
रानो हराएको मौरीको नेतृत्वविहीन बथान जस्तै बनेको छ, शान्ति पाएको हाम्रो प्रिय देश नेपाल। कुन दिशातर्फ देश अगाडि बढ्दै छ र भोलिको बिहानीले कस्तो सन्देश बोकेर ल्याउनेछ भन्ने आधारभूत परिकल्पनासमेत गर्न नसकिने अत्यन्तै जटिल र अन्योलग्रस्त स्थिति आज सिर्जना भएको छ।
गाउँका चौतारीदेखि सहरका चियापसलसम्म, बौद्धिक वृत्तदेखि आम सर्वसाधारणसम्म जहाँतहीँ एउटै गहन चर्चा, शंक र चिन्ता सुनिन्छ- अब यो देशको भविष्य के हुने हो? हुन पनि अब के हुने हो भन्ने प्रश्न आफैंमा अनुत्तरित र भयावह बनेको छ। मानिसका वर्षौँदेखिका साना-ठूला इच्छा, आकांक्षा र सपनाहरू परिस्थिति र अराजकताको डढेलोमा परेर पूर्ण रूपमा नष्ट भएका छन्।
देश र समाजका लागि केही गरौँ भन्ने भावना बोकेका युवा तथा कर्मठ हातहरू र प्रयत्न गर्ने पाखुराहरू निरन्तरको असफलता र अन्योलका कारण निर्बल बनेका छन्। लाग्छ, यो राज्य कुनै एउटा कालखण्डमा मात्र होइन, पुस्तौं-पुस्तादेखि निरन्तर पछाडि परिरहेको छ र समृद्धिको यात्रामा सधैं अलमलिइरहेको छ।
हिजोका दिनमा परिवर्तनका ठूला-ठूला आदर्शका महल बनाउने, सुन्दर भविष्यको सपना बाँड्ने र परिवर्तनका नारा घन्काउने ती तथाकथित आदर्शवादीहरूको मुख आज जनताले जवाफ माग्दा किन एकाएक बन्द भयो? शक्तिको उन्मादमा रमाउने र सत्ताको वरिपरी घुम्ने शक्तिका पुजारीहरूको आज के छ खबर?
आखिर जीवन र राजनीतिमा के रहेछ त प्राप्ति र त्यागको वास्तविक अर्थ? गहिरिएर सोच्दै छु, अन्तिममा मानिसले सोचेजस्तो र योजना बनाएजस्तो के नै हुँदो रहेछ र! जब आधारभूत संस्कार र इमानदारी हराउँछ, तब हाम्रा ठूला प्रयत्नहरू पनि अन्त्यमा निष्फल नै हुने रहेछन्।
वास्तवमा मानव निर्मित सबै संरचना र दम्भभन्दा माथि प्रकृति नै परम शक्ति र महाबल हो। मानिसले जतिसुकै भौतिक प्रगति गरे पनि वा शक्तिको प्रदर्शन गरे पनि अरू सबै त केवल प्रकृतिको इशारामा चल्ने अल्पकालीन स्वरूप मात्र रहेछन्।
विगतमा विश्वका विभिन्न कुनामा भएका युद्ध, विनाश र हिंसाका घटना-परिघटनाहरूको बारेमा पत्रपत्रिका र सञ्चारमाध्यममा धेरै सुनिन्थ्यो र पढिन्थ्यो। तर आज आफ्नै आँखाअगाडि आफ्नै देशमा अर्बौं-खर्बौं लगानी गरेर वर्षौँको मिहिनेतपछि बनाइएका आधुनिक भवन, गाडी, उद्योग र भौतिक संरचनाहरू एकैछिनको अराजकता र आक्रोशमा खरानी भएको देख्दा मुटु काँपेर आउँछ।
यस्तो विनाशकारी दृश्य देख्दा हाम्रा पुर्खाले यो देश जोगाउन र बनाउनका लागि बगाएको पसिना अनि दिएको रगतको बलिदान माटोमै विलीन भएर गएको हो कि भन्ने पीडादायी अनुभूति हुन्छ।
समाज र राज्यको विकासका लागि निश्चित समयमा परिवर्तन आवश्यक हुन्छ र परिवर्तनका लागि क्रान्ति पनि अपरिहार्य मानिन सक्छ। तर बनेका, आर्जन गरिएका र जनताको करबाट उभ्याइएका राष्ट्रिय सम्पत्तिलाई नै ध्वस्त पार्ने वा खरानी बनाउने क्रान्ति कहिल्यै पनि देशको हितमा हुन सक्दैन।
क्रान्तिको वास्तविक अर्थ त भएका भौतिक सम्पत्ति, पूर्वाधार र प्रविधिलाई अझ सुधार्ने, व्यवस्थित बनाउने र प्रवर्धन गर्ने हुनुपर्थ्यो। एकातिर विश्व जगतमै आर्थिक र प्राविधिक रूपमा अपहेलित र पछाडि परेको हाम्रो देश, त्यसमाथि यस्ता अराजक, उच्छृङ्खल र विनाशकारी गतिविधिले निरन्तर प्रश्रय पाउँदै जाने हो भने अब हाम्रो देश कता जाला र यसको भविष्य कहाँ पुगेर ठोक्किएला?
आज देशमा सिर्जनात्मक काम गर्ने व्यक्तिहरू पूर्ण रूपमा उदासीन र निराश बनेका छन्। उद्यमी, व्यवसायी, श्रमजीवी र युवा वर्गमा काम गर्ने जोश, जाँगर र उत्साह पूर्ण रूपमा नष्ट भएको छ।
कतिखेर कुन कुनाबाट के नराम्रो खबर सुन्नुपर्ने हो भन्ने निरन्तरको त्रास, डर र अन्योलका बीच देशवासीहरू आफ्नो दैनिक जीवन बिताउन बाध्य भइरहेका छन्। भइसकेका क्षतिलाई हेरेर ‘जे हुनु भइहाल्यो’ भनेर मनलाई सम्झाउन वा चित्त बुझाउन पनि अत्यन्तै गाह्रो छ, किनकि एउटै पुस्ताका मानिसहरू आफ्नो छोटो जीवनकालमै कयौँ आन्दोलन, युद्ध, हिंसा र विनाशका प्रत्यक्षदर्शी बन्न पुगेका छन्।
इतिहासलाई फर्केर हेर्दा, हाम्रा पुर्खाले एक छाक पेटभरि नखाई, वर्षैभरि एक सरो कपडा लगाएर, नाङ्गा गोडाले उकाली-ओराली गर्दै देशको रक्षा र सुधारका लागि कयौँ दुःख-कष्ट सहेका थिए। उनीहरूले आफ्ना भावी सन्ततिका लागि एउटा स्वाधिन र सुन्दर देश छोडेर जान आफ्नो रगतको बलिदान दिए।
तर यसरी इतिहासको लामो संघर्ष र त्यागबाट यहाँसम्म पुगेको देश आज क्षणिक उन्माद र अराजकताका कारण एकै दिनमा माटो र खरानीमा परिणत भएको देख्दा स्तब्ध हुनुबाहेक अन्य विकल्प रहँदैन।
अब यसको दोष कसलाई दिने? राजनीतिज्ञहरूलाई, नागरिक समाजलाई वा स्वयं जनतालाई? जब हाम्रो आफ्नै आन्तरिक आत्मबल नै कमजोर छ, नैतिकताको धरातल खस्किएको छ र सम्पूर्ण पक्षबाट इमानदारीपूर्वक उभिएर आत्मालोचना गर्न सक्ने मानिसहरूको घोर कमी छ भने अरू कसैलाई मात्र दोष दिएर पन्छिनुको कुनै अर्थ रहँदैन।
त्यसैले, यो संकटको घडीमा देशको वास्तविक सुधार र पुनरोत्थानका लागि सबैभन्दा पहिले केवल आर्थिक र भौतिक विकासको कुरा गरेर मात्र पुग्दैन। ठूला सडक, भवन र आधुनिक पूर्वाधारभन्दा पनि पहिला हाम्रो संस्कार, संस्कृति, नैतिक मूल्य र सभ्यताको सुधार हुनु अपरिहार्य देखियो।
भौतिक संरचनाहरू त ढले पनि बजेट र प्रविधि भए पुनः निर्माण गर्न सकिन्छ, तर जब मानवीय संस्कार र सभ्यताको विनाश हुन्छ, तब सिङ्गो समाज नै पतन्तीतर्फ धकेलिन्छ। जबसम्म मानिसको चेतना, सामाजिक संस्कार, सांस्कृतिक मूल्य, सभ्यता र अनुशासनमा आमूल परिवर्तन हुँदैन, तबसम्म राष्ट्र निर्माणका नाममा गरिने जुनसुकै भौतिक वा राजनीतिक प्रयासमा पनि बारम्बार अवरोध आउनु निश्चित छ। अनुशासनहीन र नैतिकतारहित समाजमा ठूला विकासका योजनाहरू पनि अन्ततः विनाशकै कारण बन्न पुग्छन्।
अबको बाटो भनेको विगतका गल्तीहरूबाट पाठ सिक्दै, घृणा र नकारात्मकतालाई छाडेर सकारात्मक सोच र रचनात्मक ऊर्जाका साथ अगाडि बढ्नु हो। निराशाको बादल जतिसुकै बाक्लो भए पनि त्यसलाई चिरेर अगाडि बढ्नुको अर्को विकल्प हामीसँग छैन।
वर्तमानको यो विषम र दर्दनाक अवस्थालाई धैर्यतापूर्वक सुधार्दै भविष्यका लागि सही र दिगो दिशा खोज्नु आजको मुख्य राष्ट्रिय दायित्व बनेको छ। अब उप्रान्त लक्ष्यहीनता, इच्छारहित निराशा, आन्तरिक कलह र उदासीनताबाट टाढा रही दूरदर्शी, दीर्घकालीन र फराकिलो सोचका साथ अगाडि बढ्नु नै राष्ट्र बचाउने र समृद्ध बनाउने एक मात्र निर्विकल्प मार्ग हो।
जबसम्म हरेक नागरिक र नेतृत्व तहले व्यक्तिगत अहङ्कार त्यागेर राष्ट्रिय हित, नैतिक उत्तरदायित्व र संस्कारयुक्त जीवनशैलीलाई आत्मसात् गर्दैनन्, तबसम्म साँचो अर्थमा देशको पुनरोत्थान सम्भव छैन।
No ads found for this position




Facebook Comment