जिल्लामै आँखाको शल्यक्रिया भएपछि ज्येष्ठ नागरिक हर्षित

डिसी नेपाल
३० फागुन २०८० २२:१७
32
Shares

पर्वत। जिल्लाबाटै आँखाको शल्यक्रिया सेवा पाएपछि पर्वतका ज्येष्ठ नागरिक हर्षित भएका छन् । पर्वतमा सक्रिय लायन्स क्लबको संयुक्त आयोजनामा पहिलोपटक सदरमुकाम कुश्मा बजारस्थित जिल्ला अस्पतालमा मोतीविन्दुको शल्यक्रिया शिविर सञ्चालन भएको हो। फागुन २६ गतेदेखि सुरु भएको आँखा जाँच तथा मोतीविन्दुको शल्यक्रिया सेवा आज सकिएको छ। फागुन २६, २७ र २८ गते जिल्लाका विभिन्न स्थानमा आँखाका बिरामीको परीक्षण तथा मोतीविन्दुको पहिचान गरिएको थियो।

परीक्षणका क्रममा ३९ जना मोतीविन्दुुका बिरामी भेटिएका थिए। सबै जनाको जिल्ला अस्पतालमै शल्यक्रिया गरिएको लायन्स क्लब अफ शिवालय कुश्माका अध्यक्ष मीनप्रसाद शर्माले राससलाई जानकारी दिए। उनका अनुसार जिल्लाभर तीन सय ५० जनाभन्दा बढीको आँखा परीक्षण गरिएको थियो । कतिपय बिरामीको दुवै आँखाको शल्यक्रिया पनि गरिएको थियो। सामान्य समस्या देखिएकालाई निःशुल्क औषधि र चश्मासमेत वितरण गरिएको थियो।

शिविरमा हिमालय आँखा अस्पताल पोखरा र पर्वत अस्पतालको प्राविधिक सहयोग रहेको थियो। जिल्लास्थित लायन्स क्लब अफ शिवालय कुश्मा, लायन्स क्लब अफ पर्वत मोदीकाली, लायन्स क्लब अफ पर्वत कुश्मा सिटी र लायन्स क्लब अफ पर्वत कालीगण्डकीले संयुक्तरुपमा शिविर आयोजना गरेका थिए।

पर्वतमा आँखाको सामान्य परीक्षण हुने भए पनि जटिल समस्या भएका र मोतीविन्दुु लागेका बिरामी भने उपचारका लागि पोखरा, काठमाडौंलगायत सहरमा जानुपर्ने बाध्यता थियो। जिल्लामै शल्यक्रियासहितको शिविर सञ्चालन भएपछि वृद्धवृद्धा तथा असहाय नागरिक लाभान्वित भएका पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए।

पर्वत अस्पतालमा यसअघि छातीसम्बन्धी विशेषज्ञ शिविर सञ्चालन गरिएको थियो। विभिन्न सामाजिक संघ संस्थाले अस्पतालसँगको सहकार्यमा नागरिकलाई प्रत्यक्ष लाभ हुने स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *