सरकारद्वारा एनसेल सम्मानित, पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि कदर

डिसी नेपाल
९ चैत २०८० १३:३९
8
Shares

काठमाडौं । नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि सम्मान गरको छ । बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कशप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिलचन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन् ।

एनसेलले पूर्व सूचना प्रणाली संचालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै यो कदर पत्र प्रदान गरिएको हो । पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ ।

गत पुषमा मात्र एनसेलले जल तथा मौसम विज्ञान विभागले एक समझदारी पत्रमा हस्ताक्षर गरेर सहकार्यलाई थप विस्तार गरेका थिए । जस अन्तर्गत पूर्व सूचना प्रणालीमा अब १३ वटा जोखिमहरु समेटिएका छन् ।

यसै अनुरुप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् ।

सन् २०१८ मा पनि जल तथा मौसम विज्ञान विभाग र सोसाइटी अफ हाइड्रोलोजिष्ट एन्ड मेटिओरोलोजिस्ट (सोहम), नेपालले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानको कदर गर्दै डा. ऋषिराम शर्मा विपद् पूर्वतयारी तथा प्रतिकार्य पुरस्कार प्रदान गरेको थियो ।

कुनै प्राकृतिक विपद् घट्नु अगाडि नै प्राप्त हुने पूर्व सूचनाले जनधनको क्षति हुनबाट बचाउँछ । पूर्व सूचनाका कारण त्यस्ता जोखिमहरुबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । यस्तो सहकार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न ठूलो भूमिका खेल्दछ । अध्ययनले बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानवीय क्षति भने पूर्व सूचना प्रवाहका कारण धेरै कम भएको देखाएको छ ।

कदर पत्र ग्रहण गरेपछि उत्साह प्रकट गर्दै एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौ र यो कदर पत्रका लागि हामी आभारी छौं । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप यो सहकार्य गरिरहेका छौं । सम्भावित विपद्बाट आम नेपालीको जनधन जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । हामी सारा नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छौं र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरु गर्दै जाने छौं ।’

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *