झापामा मकैको व्यावसायिक खेती बढ्दै

डिसी नेपाल
२७ चैत २०८० ९:१४
12
Shares

झापा। झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।

झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताए। उनका अनुसार आर्थिक वर्ष २०७९-८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकैखेतीको विस्तार गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ । झापा गाउँपालिकाले मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलवापत ६० प्रतिशत रकम आफैँ भुक्तानी गर्दै आएको छ । यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले बताए ।

कार्यवाहक अध्यक्ष थपलियाले मकैको पकेट, ब्लक क्षेत्र घोषणा गरेर मकैको व्यावसायिक खेतीमा पालिकाले प्रवर्द्धन गरिरहेको बताए। उहाँले कृषि शाखामार्फत किसानलाई मकैखेतीतर्फ आकर्षित गर्न आवश्यक मल, बीउ, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइका लागि मोटर अनुदानमा प्रदान गरिरहेको जानकारी दिए ।

“पालिकाभित्र बाँझो जमिन देखिन छाडेको छ”, उनले भने, “किसान उत्साहित छन् कतै मकै पाक्न थालेको छ कतै हुर्किरहेको देखिन्छ ।” ज्ञान केन्द्रका सूचना अधिकारी भण्डारीले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा मकैखेतीको विस्तार भएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *