इलाम उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङ ६ हजार ६ सय २८ मतले अगाडि
फिक्कल। प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले छ हजार छ सय २८ मतले अग्रता लिएका छन्। फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ र इलाम नगरपालिका –१ र २ को मत गणना सकिएको छ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१ हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार सात सय ५२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले दश हजार एकसय ४६ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले तीन हजार छ सय तीन मतसहित चौथो स्थानमा छन्।
छवटा पालिका रहेको सो क्षेत्रको अहिले इलाम नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ। इलाम नगरपालिकाको २० हजार छ सय ६५ मत मध्ये करिब १७ हजार मत गणना हुन बाँकी छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment