काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

डिसी नेपाल
२२ साउन २०७६ १३:३४

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

काङ्ग्रेस सांसदहरुले आज क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना प्रतिनिधिसभामा पेश गरेका हुन्।

उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही हुनुहुन्छ भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला पन्त र प्रकाश रसाइली स्नेही छन्। नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारका रुपमा रहेको छ। यस भेगमा नेपाली नागरिकको ठूलो सङ्ख्याले जडीबुटी सङ्कलन, उत्पादन, भण्डारण, बिक्री वितरणमा प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्छ।

नेपालमा उत्पादित र सङ्कलित सबै जडीबुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको र क्वारेन्टाइनसम्बन्धी व्यवस्था पनि नहुँदा निकासी भइरहेको जडीबुटीमा अवरोध उत्पन्न हुनाका साथै सङ्कलित जडीबुटी खेर जाने, नोक्सान हुने तथा यस क्षेत्रका हजारौँ नेपालीको रोजगारीमा समेत असर परेको प्रस्तावमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *