अत्यधिक गर्मीका कारण महोत्तरीको गौशाला नगरपालिकाका ६८ विद्यालय पाँच दिनका लागि बन्द

डिसी नेपाल
२१ जेठ २०८३ २०:४२

बर्दीबास। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पर्न थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीका अनुसार पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था देखिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा हितलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूको पठनपाठन शुक्रबारदेखि आगामी सोमबारसम्म पूर्णरूपमा बन्द रहनेछ। नगरपालिकाले सम्बन्धित विद्यालय, अभिभावक तथा सरोकारवालाहरूलाई यो निर्णय कार्यान्वयन गर्न र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन विशेष अनुरोध गरेको छ।

नगर शिक्षा शाखा प्रमुख सञ्जयकुमार सिंहका अनुसार पछिल्ला केही दिनयता नगर क्षेत्रको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेपछि विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य जोखिम निकै बढेको छ र कतिपय विद्यार्थीहरू बिरामी पर्न थालेका छन्।

यसैबीच गौशाला-१२, कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मात्रै हालसम्म २० जना छात्राहरू गर्मीका कारण बेहोस भइसकेका छन्। विद्यालयका प्रधानाध्यापक रामस्नेही यादवका अनुसार बिहीबार मात्रै पनि पाँच जना छात्राको स्वास्थ्य अवस्था बिग्रिएको थियो, जसलाई प्राथमिक उपचारपछि अभिभावकको जिम्मा लगाइएको छ।

विद्यालयमा दिनहुँजसो विद्यार्थी बेहोस हुन थालेपछि नगर स्वास्थ्य शाखा प्रमुख अशोककुमार महतोसहित स्वास्थ्यकर्मीको टोलीले कान्तिबजार विद्यालयको स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमनका क्रममा बढ्दो गर्मी, साँघुरो कक्षाकोठा, पर्याप्त भेन्टिलेसनको अभाव, जस्तापाताको छानो तात्तिनु तथा कतिपय विद्यार्थीहरू भोकै विद्यालय आउने गरेका कारण यस्तो स्वास्थ्य समस्या देखिएको महतोले जानकारी दिए।

नगर शिक्षा शाखाको तथ्यांक अनुसार गौशाला नगरपालिकाभित्र ३१ सामुदायिक, ३० संस्थागत र सात धार्मिक गरी कुल ६८ विद्यालयहरू सञ्चालनमा रहेका छन्, जहाँ २० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।

यता, बढ्दो गर्मीको यो लहर महोत्तरीका अन्य क्षेत्रमा पनि उस्तै देखिएको छ। यसअघि बढ्दो गर्मीकै कारण विद्यार्थीहरू कक्षा कोठामै अचेत हुन थालेपछि छिमेकी बर्दिबास नगरपालिकाले पनि आफ्नो क्षेत्रका ८२ वटा विद्यालयहरूमा दुई दिनको सार्वजनिक बिदा दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *